काठमाडौँ: नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज दुलाल ‘शरद’ले अमेरिकी अनुदान परियोजना (एमसीसी) पारित नगर्दा सरकार ढल्छ भने ढल्न दिनुपर्ने बताएका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट मानिने नेता युवराज दुलालले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबल गरे मात्र स्थानीय तहको चुनाव समयमै गर्ने सर्त राखेको हो भने त्यो गलत हुने टिप्पणी पनि गरेका छन्।
‘फेरि भनौं नो एमसीसी, यदि एमसीसी संसदमा टेबल नगर्दा या या अमेरिकाको इच्छाअनुसार पारित नगर्दा गठबन्धन टुट्छ या सराकर ढल्छ भने ढल्न दिनुपर्छ’, दुलालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘र, बुझ्नुपर्छ– देश विदेशी उपनिवेशमा नै छ र त्यसबाट मुक्त हुन नयाँ पुस्ताले राष्ट्रिय स्वतन्त्रताको लडाइँ लड्नुपर्छ।’
अहिलेको राष्ट्रिय सवाल एमसीसी नभएर स्थानीय तहको चुवाव भएको उल्लेख गर्दै उनले सरकारले अविलम्ब चुनावको मिति घोषणा गर्नुपर्ने बताएका छन्।उनले अगाडि भनेका छन्, ‘संसदबाट एमसीसी फेल गर्ने सहमतिबाहेक अरू अवस्थामा टेबल गर्नु आत्मघाती हुनेछ। चेतना भया।’
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित नगरे गठबन्धन तोड्ने निर्णयमा पुगेका छन् ।
उता प्रतिनिधिसभाको चालु अधिवेशनबाटै एमसीसी पास गर्नैपर्ने बाध्यतामा आफू रहेको निष्कर्षसहित उनले एमसीसी पास नभए पाँचदलीय गठबन्धन टुट्ने चेतावनीसमेत दिएका छन् ।
शनिबार साँझ सत्तारुढ पाँच दलको बैठक राखेर स्थानीय निर्वाचनमा जेठमा गर्ने सहमति जुटाएका देउवाले लगतै एमसीसीबारे छलफल गरेका थिए । बालुवाटारमा भएको छलफलमा राष्ट्रिय जनमोर्चाबाहेक चार दलका शीर्ष नेताहरु र कार्यदलका सदस्यहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की थिए ।
बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले १ फेब्रुअरीसम्म अनुमोदन नगराए अमेरिकाले एमसीसी परियोजना फिर्ता लैजाने बताए ।
एमसीसी अध्ययन कार्यदलमा समेत रहेका एकीकृत समाजवादीका नेता झलनाथ खनालले भने, ‘त्यसभित्र तिमीहरुले गर्यौ भने गर्यौ, नभए हामी फिर्ता लान्छौं भन्याछन् भनेर प्रधानमन्त्रीले भन्नुभएको थियो ।’ बैठकमा शीर्ष नेताहरुबीच केहीबेर चर्काचर्की नै भएको थियो । हिजोको घम्साघम्सी देख्दा त एमसीसीकै कारण गठबन्धन नै टुट्छ कि जस्तो देखिएको एक सहभागीले बताए ।
उनले एमसीसी पास गर्नैपर्ने भएकाले सहयोग गर्न अरु दलका नेताहरुसँग आग्रह गरे । तर माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु त्यसमा सहमत भएनन् । कार्यदलमा रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यही अवस्थामा संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने बताए ।
जवाफमा प्रधानमन्त्री देउवाले संसदमा प्रस्ताव पेश गर्ने अडान मात्रै लिएनन्, तपाईंहरुलाई मन लागे भोट हाल्नुस्, मन नलागे नहाल्नुस् भनेका छन् । ‘प्रधानमन्त्रीज्यू अलिकति दबावमा देखिनुहुन्थ्यो, उहाँले एमसीसी यही अधिवेशनबाट पारित गर्नुपर्छ नत्र भने गठबन्धन टुट्छ भन्नुभयो,’ अर्का एक शीर्ष नेताले भने, ‘हामीले पनि एमसीसीमा एमाले अध्यक्ष ओलीसित मिल्नु छ भने मिल्नुस्, पास गर्नुस् । त्यसरी जालझेल गरेर गठबन्धन जोगाउनु पनि छैन भन्यौं ।’