सभामुखज्यूलाई महाभियोग ल्याउनसक्ने एउटा परिस्थिति सिर्जना पनि हुनसक्छ

10k Shares
सम्बन्धित पार्टी

काठमाडौं, २५ माघ । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव पनि दर्ता हुनसक्ने टिप्पणी गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।


उनले भने,‘अब एमालेले सभामुखज्यूलाई महाभियोग दर्ता गरेर सेफ ल्याण्डिङ खोजोस भन्ने कतिपय बुद्धिजिवीहरुको सुझाव पनि छ, अस्ति एउटा कार्यक्रममा कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल र म सँगै थियौं, युवा संघको कार्यक्रममा उहाँले पनि त्यो भन्नुभयो– एमालेले महाभियोगको प्रस्ताव दर्ता गरोस, पास या फेल हुने कुरा एउटा कुरा भयो, त्यसपछाडि सदनलाई सुचारु गर्ने कुरामा एउटा सेफ ल्याण्डिङको विषय हुनसक्छ भन्नेपनि यो आएको छ, त्योबारेमा चाहीँ नेकपा एमालेले अहिलेसम्म कुनै ठोस निर्णय नगरिसकेको कारणले त्यो विषयमा अहिले मैले यो नै हुन्छ भनेर भन्न सक्दिनँ । तर, एउटा विषय त्यो पनि हनचाहीँ सक्छ। सभामुखज्यूलाई महाभियोग ल्याउनसक्ने एउटा परिस्थिति सिर्जना पनि हुनसक्छ, उहाँको कारणले ।’

 

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सभामुखविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउनको लागि आफूहरु सय जना सांसद जुनसुकै बेला हस्ताक्षर गर्न तयार रहेको पनि स्पष्ट पारे । उसो भए एमालेले महाभियोग प्रस्ताव दर्ता गराउँछ त ? भन्ने प्रश्नमा उनले भने–‘अहिले नै पार्टीको निर्णय नभईकन मैले भन्न त हतार होला, त्यो विषय पनि एउटा विषय हुनसक्छ, राजनीतिक घट्नाक्रम कसरी विकास हुन्छ ? एउटा परिस्थिति त्यो हनुपनि सक्छ । तयारी गर्नै परेन नि ? हामी सय जना स्ट्याण्डबाई छौं। जुनबेला पनि सही गर्न तयार नै छौं । त्यसलाई संख्या पुर्याउने कुरामा पार्टीले पहल गरेर त्यो परिस्थिति सिर्जना गर्यो भने त्यो हुनपनि सक्छ ।’

उनले स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुने जुन घोषणा भएकोमा स्वागत गर्दै सरकारलाई धन्यवाद भनेका छन् । उनले भने,‘स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको छ, म सरकारलाई धन्यवाद भन्न चाहन्छु । मिडियाको तर्फबाट ठूलो दबाब सिर्जना गर्नुभयो । प्रमुख प्रतिपक्षी दलले आन्दोलनको कार्यक्रम नै घोषणा गर्नुपरेको थियो । व्यापक जनदबाबपछि मिति घोषणा भयो । माओवादीका कतिपय नेताहरुको भनाई सुन्दैछु–प्रश्न उठाउने कुरा । कानूनी रुपमा चूनौति दिएर अदालत जाने र चुनाव सार्ने षड्यन्त्र पनि हुनसक्छ । यो पाटोमा हामी चनाखो हुनुपर्छ । मुलुकको समृद्धि साकार पार्नको लागि न्यायालयले सकारात्मक भूमिका खेल्नुपर्छ । कहिलेकाहीँ न्यायालय सेटिङबाट चल्यो भन्ने पनि चर्चा छ ।’

स्थानीय तहको निर्वाचनको सवालमा आफ्नो दलले कसैसँगपनि गठबन्धन नगर्ने बस्नेतको दाबी छ । उनले भने,‘कुनैपनि खेलको मैदान होस या निर्वाचनको मैदानमा जाने कुरा होस, जुन शक्ति आफ्नो एजेण्डामा क्लियर र विश्वस्त छ, त्यो शक्ति ढुक्कसँग मैदानमा जान्छ । जुन शक्ति कमजोर छ, त्यो मैदानमा जान डराउँछ अनि जलझेल गर्छ । एमालेमात्रै विश्वस्तका साथ निर्वाचनमा जान चाहन्छ । कांग्रेसमा पनि विश्वास र कन्फिडेन्स त छ । तर, कांग्रेसका केही नेताहरुमा निर्वाचनको भय देखिन्छ । रामचन्द्र पौडेलमा पनि त्यो भय देखियो। कांग्रेसले त्यो पाटोमा ध्यान दिओसर । हुन त शान्त कुटनीतिमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादु देउवा बलियो हुनुहुन्छ ।’

आफ्नो पार्टीको भविष्य अन्धकार देखेको कारण प्रचण्ड र माधव नेपालले स्थानीय तहको निर्वाचन टार्ने षड्यन्त्र गरेको पनि उनले आरोप लगाए । उनले भने,‘उहाँहरु सकेसम्म निर्वाचन टार्ने अवस्थामा हुनुहुन्छ, सकेसम्म निर्वाचनमा जाँदा कांग्रेससँग गठबन्धन गर्ने उहाँहरुको योजना छ, त्यो पनि नभए एमालेसँग पनि विभिन्न शक्तिको ईशारामा उहाँहरुले एमालेका नेताहरुसँगसाईनो र सम्बन्ध राख्ने काम गर्नुभएको छ, यसबारे प्रधानमन्त्री देउवापनि सचेत हुन आवश्यक छ । निर्वाचनमा मूलभूत रुपमा एमाले एक्लै जान्छ । तर, निर्वाचनमा कतिपय ठाउँमा स्थानीय आवश्यकत्ताको आधारमा तालमेल हुनसक्छ । यो कुरा हामी स्विकारेर जान्छौं ।’

संसद्मा आफूहरुको भूमिका भन्दापनि सभामुखले अभिभावकको भूमिका खेल्नुपर्नेमा नेता बस्नेतले जोड दिए । उनले भने,‘संसद्मा हाम्रो भूमिका कस्तो हुन्छ ? भन्ने सवाल छ, भोलिबाट एमसीसीले संसद्मा प्रवेश पाउने विषय देखिँदैछ । यो विषयमा सभामुखले पहल लिईरहेको सुन्न पाएका छौं । सभामुखज्यूलाई फेरि पनि आग्रह गर्न चाहन्छु कि उहाँले अभिभावकको रुपमा भूमिका खेल्नुपर्छ । दलीय आधारमा व्यवहार देखाउनुहुँदैन् । हामीले कारबाही गरेका गैरसंसादहरुलाई सभामुखको हैसियतले सूचना टाँस्ने अधिकार दुरुपयोग गर्नुभएको छ । यो विषयको निश्कर्ष र छिनोफानो हुनुपर्छ।’

नेता बस्नेतले सभामुखसामू तीन विकल्प रहेको सुनाए । ‘पहिलो विकल्प भनेको हामीले कारबाही गरेका सांसदहरुको कारबाही पत्र सदर गर्ने, अनि दोस्रो विकल्प भनेको आफ्नो पदबाट राजीनामा दिएर परिस्थिति सहजीकरण गर्ने र तेस्रो विकल्प भनेको अदालतले छिटो फैसला गर्ने हो । यो भन्दा फरक विषय एमालेले अहिले सोचेको छैन् । यी तीन कुरा नभएसम्म संसद्मा एमालेको विरोध कायमै रहन्छ ।’–उनले भने ।

यद्धपी उनले सरकारले अध्यादेश र विद्येयक ल्याउने प्रक्रिया गरिरहेको पनि स्मरण गराए । उनले भने,‘हामीले विरोध गर्ने तहमा मात्रै भूमिका खेलेका छौं । एमालेलाई पेलेर र हेपेर जान खोजियो भने हामी अवरोध गर्ने तहमा पनि जान्छौं । मर्यादापालक प्रयोग गरेर अनि पेलेर सदन नचलाउन सभामुखलाई अनुरोध गर्छु ।’

बस्नेतले एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले लेखेको पत्रको विषयमा पनि उनले प्रश्न उठाए । उनले भने,‘एमसीसीलाई प्रधानमन्त्री देउवा र प्रचण्डले जुन पत्र लेख्नुभयो । प्रधानमन्त्रीको हैसियतले लेखेको पत्र, प्रधानमन्त्री भनेको पावर अफ द स्टेट भनिन्छ । यो विषय स्वभाविक पनि होला । प्रचण्डले हस्ताक्षर गरेको कुरा पावर अफ स्टेटको दुरूपयोग हो । यो राज्यको शक्तिको दुरुपयोग हो । यो कहाँबाट अधिकार प्राप्त भयो ? अर्को कुरा, एमसीसीमा प्रचण्डको दोहोरो चरित्र देखियो । एमसीसी पास गर्न एकातिर पत्राचार गर्ने अनि अर्कोतिर संशोधनबिना पास हुँदैन भनेर भ्रम सिर्जना गर्ने काम उहाँले गर्नुभयो ।’

उनले प्रचण्डले आफूलाई दुई जिब्रो भएको प्रचण्ड र दुई मुख भएको माओवादी केन्द्र बनाउँदै गएको टिप्पणी गरे । उनले भने,‘उहाँले एमसीसीको विपक्षमा लिलामणि पोखरेल र देव गुरुङलाइ बोल्न लगाउने काम गर्नुभयो, अनि एमसीसीलाई आफूले चाहीँ पत्राचार गर्नुभयो, उहाँको गिर्दो छबि अझै गिरिरहेको छ । यो एमसीसीको पत्राचारको कारण नेपालको छबि अन्तर्राष्ट्रिय रुपमा गिरेको छ । अन्तर्राष्ट्रिय कुटनीतिमा गम्भीर असर पर्ने काम भयो, के आज यो मुलुकमा दुई वटा प्रधानमन्त्री छन् त ? देउवाले प्रधानमन्त्रीको हैसियतले हस्ताक्षर गरिरहँदा प्रचण्डले के हैसियतले हस्ताक्षर गरे ? यो त कानूनी रुपमा पनि कारबाही गर्नुपर्ने विषय हो । यसले धेरै दलको कित्ता क्लियर गरिदिएको छ । को भुईँमा र को पानीमा ? भनेर कित्ता क्लियर गरिदिएको छ ।’

ताजा अपडेट
सम्बन्धित समाचार