काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छाड्ने घोषणा गर्नु दुर्भाग्यपूर्ण भएको बताउनु भएको छ।थापाले मंगलबार एक विज्ञप्ति जारी गरी आफू पार्टीबाट अलग भएको घोषणा गर्नु भएको थियो ।
त्यस विषयमा कुरा गर्दै लिङ्देनले भन्नुभयो ‘उहाँले पठाउनुभएको पत्रको विषयमा पार्टीको शीर्ष तहमा छलफल भई उहाँसमेतको सल्लाह सुझावमा समाधानको उपाय खोज्ने अन्तिम प्रयास भइरहेका बेला यस प्रकारको निर्णय हुनु अनपेक्षित, उहाँको राजनीतिक जीवनको लागि दुर्भाग्यपूर्ण घटनाको रुपमा हामीले लिएका छौं ।’
गत मंसिरमा पार्टी महाधिवेशनमा लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापाले पार्टीमा पूर्व राजाको हस्तक्षेप भएको भन्दै छानबिन गर्न माग गर्नु भएको थियो ।
उहाँले पूर्वराजाको हस्तक्षेपत्रको विषयमा छानबिन गर्न तीन पटक अध्यक्ष लिङ्देनलाई ध्यानाकर्षण पनि गराउनु भएको थियो । लिङ्देनले भने थापाकै सल्लाह अनुसार पार्टीको शीर्ष तहमा यस विषयमा छलफल गर्ने तयारी भइरहेको बताउनु भएको छ ।
उहाँले थापालाई निर्णय सच्याउन आग्रह समेत गर्नु भएको छ । थापाको निर्णयबाट विचलित नहुन पार्टीका कार्यकर्ता र शुभेच्छुकहरुलाई लिङ्देनले आग्रह गर्नु भएको छ ।