काठमाडौँ । निर्वाचन आयोग स्थानीय तहको चुनावका लागि कार्यतालिका बनाउन जुटेको छ । अहिले कार्यतालिकाको मस्यौदामा काम भैरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन ।
एक–दुई दिनमा मस्यौदा अन्तिम टुङगो लागेपछि कार्यतालिका सार्वजनिक गर्ने आयोगको तयारी छ । कार्यतालिकामा निर्वाचन कार्यालय स्थापना, निर्वाचन अधिकृत नियुक्तिदेखि निर्वाचनसम्मका कार्यक्रम समेटिनेछन् ।
साथै कार्यतालिकामा उम्मेदवारी दर्ता, दाबी विरोध, चुनाव चिह्न प्रदान, चुनाव र मतगणनासम्मको कार्यक्रम समावेश हुनेछ । कार्यतालिका सार्वजनिक भएपछि त्यसैअनुसार चुनावका काम र गतिविधि अगाडि बढ्नेछन् ।
मतदाता नामावलीलाई अन्तिम रूप दिने, निर्वाचन कार्यतालिका बनाउने तथा निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सामग्री खरिदको प्रक्रियासमेत अगाडि बढेको छ ।
चुनावका लागि आवश्यक पर्ने भवन, गाडी, फर्निचर वा अन्य भौतिक साधनको अवस्था र व्यवस्थापनको प्रक्रिया समेत सुरु भैसकेको प्रवक्ता पौडेलको भनाई छ । सरकारले आउँदो बैशाख ३० गते एकै चरणमा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेपछि आयोगले काम तीव्र पारेको हो ।
२०७७ पुस ५ गतेसम्म एक करोड ६२ लाख ४३ हजार १ सय १० जना मतदाता रहेकोमा २०७७ पुस ६ देखि २०७८ माघ २४ गतेसम्म १६ लाखभन्दा धेरै नयाँ मतदाता थपिएको आयोगको अनुमान छ । निर्वाचन मिति घोषणा भएपछि आयोगले हिजोदेखि नै मतदाता नामावली सङ्कलनको काम भने स्थगित गरेको छ ।
प्राप्त संकलित नामावली अद्यावधिकको काम समेत छिट्टै सुरु हुनेछ । संकलन भएको मतदाताको नाममा देखिएका त्रुटी सच्याउने, उजुरीमाथि छानबिन गर्ने, दोहोरिएको नाम हटाउनेलगायतका काम गर्ने प्रवक्ता पौडेलले बताएका छन ।