राप्रपाका पूर्वअध्यक्ष कमल थापाले राप्रपा छाडेका छन् । हेटौडामा मंगलबार पत्रकार सम्मेलन गरेर थापाले पार्टीबाट आफु अलग हुने घोषणा गरेका हुन् ।
२०७६ फागुन २७ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को एकता घोषणासभामा तिनै थापाले गीतामा हात राखेर अब कहिल्यै पार्टी नफुटाउने प्रतिज्ञा गरेका थिए । प्रतिज्ञा गरेको दुई वर्ष नवित्दै मंगलबार थापाले सनातन धर्मको पवित्र ग्रन्थ गीताको कसम तोडेर गीताको नै अनादर गरेका छन् । दुई वर्षअघि थापाले आफै गीता बोकेर एकता घोषणासभामा हात राखेर कसम खाएका थिए । साथै अर्का दुई अध्यक्ष पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई पनि गीतामा हात राखेर पार्टी नफुटाउने कसम खान लगाएका थिए ।
पटक पटक मिल्दै र पार्टी फुट्दै गरेको इतिहास सम्झदै गीताको पुस्तक हातमा लिएर पार्टी नफुटाउने र फुट्न नदिने कसम खाएका थापाले गत मंसिरमा सम्पन्न एकता महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै आफ्नो प्रतिज्ञा तोडेर आफ्नै वचनको उपहास गरेका छन् ।
उनले पत्रकार सम्मेलन मार्फत भनेका छन् ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय लिएको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भए तापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।’
थापाले पार्टीको चुनावको क्रममा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने माग राख्दै आएका थिए । तर, सो मागका सन्दर्भमा अध्यक्ष राजेन्द्र लिङ्देनले सुनुवाइ नगरेपछि पार्टीबाटै अलग हुने निर्णय लिएका हुन् ।
उनले राप्रपाका कसैसँग पनि आफ्नो वैरभाव नरहेको भन्दै सबैको भलो होस् भन्ने कामना पनि गरेका छन् । थापाले सोमबार राजधानीमा आफूपक्षीय नेताको भेला राखेर आफ्नो माग सम्बोधन गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका थिए । उनले माग सम्बोधन नहुने हो भने आफूले विकल्प खोज्ने पनि बताएका थिए ।
उनले मकवानपुरमा गएर पार्टी छाडेको घोषणा गरेपछि लामो समय साथ दिएकाहरु पनि अलमलमा परेका छन् । थापालाई लामो समययता साथ दिएकाहरुमा राप्रपाका वर्तमान पदाधिकारीका बुद्धिमान तामाङ, रोशन कार्की, ध्रुवबहादुर प्रधान, कुन्ती शाही, जयन्त चन्दलगायत छन् । यीमध्ये अधिकांश थापालाई साथ नदिने पक्षमा छन् । थापाले गीता छोएर राप्रपा नफुटाउने कसम खाएको प्रधानले सम्झाइसकेका छन् । महामन्त्री भुवन पाठकले कमल थापाले नयाँ पार्टी बनाएमा समर्थन नगर्ने स्पष्ट पारेका छन् । उनले आफू थापाको घोषणाबाट आश्चर्यचकित भएको बताएका छन ।
थापाको अबको यात्रा कता ?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग भएको घोषणा गरेका कमल थापाले नयाँ पार्टी खोल्ने भएका छन् ।
थापाका सहयोगी राजाराम बड्तौलाका अनुसार नयाँ पार्टी खोल्ने विषयमा बुधबारबाट छलफल गरिने र केही दिनमा घोषणा हुने छ । बड्तौलाले भने ‘नयाँ पार्टी खोल्ने परिस्थिति तयार हुँदै गएको छ , एक – दुई दिनमै घोषणा हुन्छ ।’
थापाले आफ्नो नयाँ पार्टीको नाम समेत जुराइसकेको स्रोतको दाबी छ । स्रोतका अनुसार नयाँ दलको नाम राष्ट्रिय एकता पार्टी र चुनाव चिह्न मन्दिर रहने छ ।
थापा निकट स्रोतका अनुसार नयाँ पार्टीको नाममा राप्रपा शब्द जोडिने छैन । पार्टीको नाममा राप्रपा शब्द नजोडे राप्रपा फुटाएको सन्देश नजाने थापाको बुझाइ रहेको छ ।