काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता भएको छ । बिहीबार बिहान अध्यक्ष प्रचण्डलाई भेट्न कोइराला प्रचण्डनिवास खुमलटार पुगेका थिए ।
दुई नेताबीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, सत्ता गठबन्धन, संसद्को गतिरोध लगायतको विषयमा छलफल भएको कोइरालानिकट स्रोतले जानकारी दिएको छ ।
छलफलमा कोइरालाले प्रचण्डसँग संसद्लाई बन्धक बनाउन नहुने बताएका थिए। प्रचण्डले चुनावपछि मात्रै एमसीसीको विषय उठाउनुपर्ने प्रस्ताव राख्न आग्रह गरेका छन्। प्रचण्डले सत्ता गठबन्धन के गर्ने भन्ने प्रश्नमा कोइरालाले स्थानीय निर्वाचनमा गठबन्धन बनाएर जान नसकिने जवाफ दिएको स्रोतले जनाएको छ।
कांग्रेसभित्र भने यो गठबन्धन कायम गर्न नहुनेको बाहुल्य देखिन्छ। डा. शेखर पक्षधर र युवा नेता गठबन्धनका पक्षमा छैनन्। त्यो कुरा बुझेका दाहालले एमालेले जितेका स्थानमा मात्रै गठबन्धन गर्नुपर्ने प्रस्ताव गरेका छन्। कांग्रेस र माओवादी केन्द्रले जितेका स्थानमा एक्ला एक्लै लड्ने प्रस्ताव पनि दाहालको छ।
नेपाली कांग्रेस कार्यसम्पादन समितिको बिहीबार बस्ने पहिलो बैठकमा पनि शेखर समूहले गठबन्धन कायम गर्न नहुने र नेकपा फुटेर तीन पार्टी बनेकाले कांग्रेस एक्लै चुनाव लड्नुपर्ने अडान राख्ने तयारी गरेको छ। यस अगाडि कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए।