काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कारण सत्तारूढ दल माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ।
फागुन २ मा बस्ने संघीय संसद बैठकमा एमसीसीले गर्दा विकसित हुनसक्ने राजनीतिक घटनाक्रमलाई नियालेर मात्रै केन्द्रीय समिति बैठक बस्ने नेता हरिबोल गजुरेलले जानकारी दिएका छन ।
एमसीसीका कारण यतिबेला माओवादी विवादित छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २७ सेप्टेम्बर २०२१ मा एमसीसी कार्यालयलाई परियोजना अनुमोदन गरेर कार्यान्वयन सहमत रहेको भनी लेखेको पत्र सार्वजनिक भएसँगै माओवादी विवादित भएको हो।
यसबारे पनि केन्द्रीय समितिमा छलफल हुने बैठकको एजेन्डा थियो। बैठकका अन्य एजेन्डाहरू भने स्थानीय निर्वाचन, निर्वाचन केन्द्रित जिम्मेवारी केन्द्रीय सदस्यहरूलाई दिने र महासचिवसहितको पदाधिकारी छनोट गर्ने रहेको स्रोतले जनायो ।