काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी हुने तीनै तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने दावी गरेका छन् ।
एमालेले थालेको स्थानीय तह निर्वाचनको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले आगामी स्थानीय, प्रदेश र संघ तीनै तहको निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्ने दावी गरेका हुन। हाल एमालेको बर्चस्वले वर्तमान सत्ता गठबन्धनलाई बिझाइरहेको समेत ओलीको आरोप छ ।
उनले एमालेसँग जुध्नेहरुले भाग्ने ठाउँ भए अहिले देखि नै भाग्न ठाउँ खोज्न चेतावनी समेत दिएका छन । उनले भने, ‘भाग्न उम्किने ठाउँ छ भने खोजे हुन्छ । आउने संघीय र प्रदेश निर्वाचनमा बहुमत ल्याएरै छोड्छौँ’
त्यस्तैगरी उनले बिगतको जसरी निर्वाचनमा धाँधली गरेर जित्छु भन्ने कसैले नसोच्न समेत चेतावनी दिएका छन । नेकपा एमालेले स्थानीय निर्वाचन केन्द्रीत प्रशिक्षणको कार्यक्रमहरु थालनी गरेको छ । उक्त कार्यक्रमको अध्यक्ष ओलीले आज उद्घाटन गरेका हुन् ।