काठमाडौं । नेकपा मालेका महासचिव सिपी मैनालीले अमेरिकी सहयोग सम्झौता (एमसिसी) अनुमोदन नगर्न आग्रह गरेका छन्।
उनले आज रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा बोल्दै एमसिसी सदनबाट पारित गरे देशको कानुनभन्दा माथि हुने तर्क राखेका छन । यस्तो खालका अनुदान सदनबाट पारित गर्न नपर्ने उनको भनाइ थियो।
उनले एमसिसी सम्झौतालाई नेपालमा धेरैले विरोध गरेको र थोरैले समर्थन गरिरहेकोले यस विषयमा पुर्नविचार गर्नु पर्ने बताएका छन । अमेरिकामा तत्कालीन मन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता गर्दा संसद्बाट अनुमोदन गर्ने कुरा नै नलेखिएको जिकिर गरेका छन ।
पछि अमेरिकाले संसद्बाट पारित गर्न चिट्ठी पठाएपछि नेपालका नेताहरू त्यसको दुष्परिणामको हेक्का नराखी संसद्बाट पारित गर्न तयार भएको उनको भनाई छ ।
अनुदान पाउने कुरा राम्रो भए पनि अमेरिकाको ठूलो स्वार्थ रहेको उनले जिकिर समेत गरेका छन। सडक तथा विद्युत् आयोजना सकिएपछि संरचना कसलाई जिम्मा दिने कुरा सम्झौतामा उल्लेख नगरिएको उनले बताए। अमेरिकाले बनाएका संरचना अमेरिकाको हित बाहिर प्रयोग गर्न नपाइने पनि उल्लेख भएको पनि उनको भनाई छ ।