काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा गत बिहीबारदेखि जारी बैठक अहिले ३ बजेबाट बस्न लागेको हो ।
बैठकमा आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि मूल समिति र घोषणा पत्र तयारी समितिका संयोजक चयन, संगठन सुदृढिकरण एवं निर्वाचन तयारी केन्द्रित राष्ट्रव्यापी अभियान सञ्चालन, सभापति पद रिक्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था व्यवस्थापन, नयाँ भ्रातृ एवं शुभेच्छुक संस्थालाई मान्यता दिने, क्रियाशील सदस्यहरूको व्यवस्थापन, नयाँ सदस्यता वितरण, केन्द्रीय अनुशासन समिति गठन लगायत विषयमा छलफल भइरहेको छ ।
गत बिहीबार, शुक्रबार र आइतबार गरी तीन दिनसम्म बैठकमा प्रस्तुत एजेन्डाहरूमाथि नेताहरूले धारणा राखिसकेका छन् । महामन्त्री गगन थापाले गत बिहीबार नै प्रस्तुत एजेन्डाहरूमाथि निर्णय गर्दै मंगलबार बैठक समापन हुने बताएका छन ।
४६ सदस्यीय कार्यसम्पादन समितिमा अब ९ जना सदस्य मनोनित हुन बाँकी छन् । १४ औँ महाधिवेशनपछि पहिलो पटक बसेको बैठकमा सबैजसो नेताहरूले बोलेका छन् ।
सबै नेताहरूले बोल्ने क्रम चलेका कारण बैठक लामो भएको नेताहरूको भनाइ छ । बैठकमा एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने र प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव लगायत विषयमा समेत छलफल भइरहेको छ ।