काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूबीच आजको संसद् बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता टेबल गर्ने सहमति जुटे पछि सोही विषयलाई लिएर प्रदर्शन हुन सक्ने भन्दै काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
काठमाडौंका सडकमा आज मात्रै दुई हजार बढी प्रहरी परिचालन गरिएको छ । नयाँ बानेश्वर, बबरमहल, माइतीघरमा सुरक्षाकर्मी बढी खटाइएका छन् । नयाँ बानेश्वर क्षेत्रमा मात्रै एक हजारको संख्यामा प्रहरी खटाउने तयारी छ ।
आज एमसीसीको विरोधमा विभिन्न संघ–संगठनहरूले प्रदर्शन गर्ने तयारी गरेका छन् । गएको बुधबार र शुक्रबार पनि सत्तासाझेदार दलकै कतिपय नेता–कार्यकर्ता एमसीसीविरुद्ध सडकमा उत्रिएका थिए ।