काठमाडौं । ७ वटा पार्टी मिलेर गठन भएको सामाजिक एकता पार्टीको घोषणासभा फागुन १० गते हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा ११ बजे पार्टीको घोषणा हुने छ ।
पार्टीका उपाध्यक्ष तुलसी प्रसाद श्रेष्ठले पार्टीले मान्यता पाइसकेपछि अब गति लिने बताए । आयोगको फागुन ३ गते निर्णयले यो पार्टीलाई मान्यता दिएको थियो । पार्टीको अध्यक्ष सिवी गहतराज रहेका छन् । पार्टीले फाल्गुण ५ गते बिहीबार निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ ।
सामाजिक एकता पार्टी, जनवादी मोर्चा नेपाल, नेपाल दलित पार्टी, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, गणतान्त्रिक संयुक्त मोर्चा नेपाल र नेपाल कम्युनिष्ट पार्टी (राष्ट्रवादी) मिलेर यो पार्टी गठन भएको हो ।
‘हिजोसम्म हामी पनि अलमलमा थियौं, अब तीव्र गतिमा अघि बढ्छौं’ श्रेष्ठले भने ‘हिजो विभिन्न पार्टीमा नेतृत्व गरेकाहरु अहिले यो पार्टीमा आउनुभएको छ, कसरी पार्टी चलाउने भन्ने समस्या छैन ।’
अध्यक्ष गहतराजले पार्टीको नामजस्तै काम पनि हुने बताए । ‘हाम्रो पार्टीले समाजमा एकता कायम गर्छ र सबैलाई समेटेर लान्छ’ अध्यक्ष गहतराजले भने ‘अबको निर्वाचनमा हामी पनि छौं है भनेर सबैतिर राम्रो उपस्थिति जनाउँछौं, अब केही दिनपछि पार्टीको आगामी बाटो क्लियर गर्छौं ।
फाल्गुण १० गते मंगलबार ११ बजे प्रज्ञा प्रतिष्ठानमा दलको औपचारिक घोषणा गरिने उपाध्यक्ष श्रेष्ठले जनाए । पार्टीले सम्पूर्णलाई उपस्थितिको लागि आग्रहसमेत गरेको छ ।
