काठमाडौँ । नेकपा एमाले हुम्लाको स्थगित नवौं जिल्ला अधिवेशन आजबाट सुरु भएको छ।
जिल्ला समितिको सचिवालय बैठकले स्थगित जिल्ला अधिवेशन आजदेखि गर्ने निर्णय गरेको हो।
एमाले हुम्लाका कार्यवाहक अध्यक्ष ज्ञानी बुमीले दुई पटक स्थगित पार्टीको नवौं जिल्ला अधिवेशन सदरमुकाम सिमकोटमा हुने जानकारी दिएका हुुन। उनले पार्टीको केन्द्रीय निर्देशनअनुसार स्थानीय तहको निर्वाचनअघि जिल्ला अधिवेशन गर्न लागिएको बताएका छन।
सबै तयारी पूरा भइसकेकाले जिल्ला अधिवेशन गर्न कुनै समस्या नरहेको एमाले हुम्लाले जनाएको छ। जिल्लामा ४३ वटा वडा र सात वटा गाउँपालिकाबाट १२४ र हालको जिल्ला कमिटीका १३५ जना गरी २५९ जना अधिवेशन प्रतिनिधि यसअघि नै छनोट भइसकेका छन्। अधिकांश अधिवेशन प्रतिनिधि सदरमुकाम पुुगीसकेका छन्।
जिल्ला अधिवेशनका लागि जिल्ला इन्चार्ज एवं पोलिब्युरो सदस्य गोरखबहादुर बोगटी र सहइन्चार्ज एवं केन्द्रीय सदस्यद्वय दलबहादुर रावल र दलबहादुर फडेरा पनि हुम्ला पुुगेका छन्।
२०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद् चुनिएका छिमीदोर्जे लामा एमाले प्रवेश गरेपछि पुस २३ गते हुनुपर्ने अधिवेशन एक महिना सारिएको थियो। तर माघमा कोरोना सङ्क्रमण बढेको जनाउँदै पार्टी केन्द्रीय निर्देशनअनुसार अनिश्चितकालका लागि अधिवेशन स्थगित गरिएको थियो।