स्थानीय निर्वाचनसम्बन्धी रिटमा प्रारम्भिक सुनुवाइ आज

10.3k Shares

काठमाडौं । महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जिव कुमार साहले पूरै पाँच वर्ष काम गर्न पाउनुपर्ने माग दावीसहित सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदै छ ।

सरकारले ३० वैशाख २०७९ मा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेलगत्तै उनले सर्वोच्च अदालतमा निवेदन पेश गरेका थिए । सर्वोच्च अदालत प्रशासनले सुरुमा दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको थियो । पछि तर इजलासको आदेशबाट रिट दर्ता भएको थियो ।

त्यही रिट निवेदनका आधारमा कतिपयले महोत्तरीको भंगाहा नगरपालिकाका मेयरले स्थानीय तहको निर्वाचन सार्न माग गरेर सर्वोच्च अदालतमा मुद्दा हालेको व्याख्या गरेका थिए । तर सर्वोच्च अदालत स्रोतबाट प्राप्त निवेदन हेर्दा मेयर साहले आफ्नो पाँच वर्षे कार्यकाल कुनै हालतमा कटौती नहुने सुनिश्चितता खोजेको देखिन्छ ।

संविधानको धारा २१६ को उपधारा ६ मा नगरपालिकाका मेयरको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने उल्लेख छ । आफू ७ असोज २०७४ मा निर्वाचित भएकाले ६ असोज २०७९ सम्म निर्वाध रुपमा ५ वर्षे कार्यकाल पूरा गर्न पाउनुपर्ने उनको माग छ । उनले निवेदनमा भनेका छन्, ‘उक्त पाँच वर्षे पदावधि कार्यकालमा कुनै किसिमले कटौती गर्ने घटाउने काम कारवाही नगर्नु नगराउनु भनी आदेश जारी गरी पाउँ’ रिटमा भनिएको छ ।  

उनले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ मा भएको व्यवस्था देखाई आफ्नो पदावधि कटौती हुने शंका गरेका हुन् । उक्त धारामा चरणवद्ध रुपमा निर्वाचन भएमा पहिलो चरणको निर्वाचनलाई आधिकारिक मानिने उल्लेख छ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार