काठमाडौं । द्धन्द्धकालदेखि नै माओवादीमा लागेका नेतालाई गोरखाको क्षेत्र नम्बर २ को ९ख० प्रदेशबाट निर्वाचित कांग्रेसका प्रदेश सांसद् प्रकाशचन्द्र दवाडीले कांग्रेसमा प्रवेश गराएका छन् ।
बुधबार गोरखाको वारपाक सुलिकोट गाउँपालिका ८ पन्द्रुङको जराङमा भएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सांसद् दवाडीले उनीहरुलाई कांग्रेसमा भित्र्याएका हुन् । वडा कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा माओवादीका नेता नीरबहादुर गुरुङले ‘जय नेपाल’ भनेर अन्तिममा सम्बोधन गरेका थिए ।
गुरुङले नेकपा माओवादीले कम्युनिष्टको खोल ओढेर केवल भ्रमकै खेती गरिरहेको र समाज विकासमा कुनै भूमिका खेल्न नसकेको आरोपसमेत लगाए । उनले अब आफू कांग्रेस नै भएर समाजसेवा गर्ने स्पष्ट पारे । उनले माओवादीले सहिदको नाउँ बेचेर पार्टीलाई कमाई खाने भाँडो बनाएको, सहिदलाई देखाएर धोका दिएको जनाएका छन् ।
उनले कुनै पदको लोभमा नेपाली कांग्रेसमा प्रवेश नगरेको बताएका छन् । कार्यक्रममा सांसद् दवाडीले स्थानीयले टिका र माला लगाएर स्वागत गरेका थिए । सांसद् दवाडीले समाजमा विभिन्न प्रकारका सेवा गर्दै आएका छन् ।
सांसद् दवाडीले ठूलो संख्यामा अर्को पार्टीबाट कांग्रेस प्रवेश गरेकामा गाउँमा मात्र नभएर जिल्लामा नै कांग्रेस बलियो भएकोमा सबैलाई धन्यवाद दिएका छन् ।
दवाडीले आफूमाथि गरेको विश्वास र भरोसालाई टुट्न नदिने पनि जनाएका छन् । मेरो राजनीति समाजकै सेवाको लागि, मेरो राजनीति हजुरहरुकै टेवाको लागि भन्ने मुख्य नारा बनाएका उनले नारालाई सार्थक बनाउने काम गर्दै आएका छन् ।