काठमाडौँ । एमसीसीबारे प्रतिनिधि सभामा छलफल हुने बेला अर्थमन्त्री जनार्दन शर्मा भने पर्वत पुगेका छन् ।
पर्वत उद्योग वाणिज्य संघको साधारण सभामा प्रमुख अतिथिको रुपमा सहभागी हुन भन्दै अर्थमन्त्री शर्मा पर्वत पुगेका हुन् । उनी बुधबार नै श्रीमतीसहित बागलुङ पुगेका थिए ।
शर्मा दम्पतीले बिहीबार बिहान पर्वतको कुस्मास्थित द क्लिफ रिसोर्टको स्काई क्याफेमा बसेर खाजा खाएको भिडियो सार्वजनिक भएको थियो ।
फागुन ५ गते एमसीसी प्रतिनिधि सभा बैठकमा पेश गर्ने कार्यसूचीमा पनि अर्थमन्त्रीको नाम थियो तर उनी अस्वस्थ भएको भन्दै बैठकमा उपस्थित नभएपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेश गरेका थिए ।
आज संसदमा एमसीसीबारे छलफल गर्ने सम्भावित कार्यसूची छ । तर आजको बैठकमा पनि अर्थमन्त्री शर्मा नजाने भएका छन् । उनीसँगै रहेका पत्रकार त्रिभुवन पौडेलका अनुसार उद्योग वाणिज्य संघ पर्वतको कार्यक्रममा रहेकाले शर्मा काठमाडौं नफर्किने जानकारी दिए ।