काठमाडौँ । सरकारका गृहमन्त्री बालकृष्ण खाणले सदन सुचारु गर्नका लागि राजनीतिक दलका नेताहरूसँग संवादमा रहेको बताएका छन् ।
संसद भवनबाट बाहिरिँदै गर्दा संचारकर्मीसँग उनले भने, ‘सरकार सदन सुचारु गराउन चाहन्छ। यसका लागि नै सरकार र प्रधानमन्त्रीज्यूले समेत राजनीतिक दलका नेताहरूसँग संवाद गर्ने र सनलाई सहज गराउने र प्रक्रियामा अगाडि बढेका प्रस्तावहरूलाई टुंगोमा पुर्याउने गरी कोसिस भइरहेको छ ।’
खाणले प्रधानमन्त्रीले पनि सबै दलका नेताहरूसँग यसबारे छलफल गरिरहेको पनि बताए । सरकारमा रहेका सबै घटकहरूले सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने उनको भनाइ थियो ।
उनले भने, ‘सरकारको प्रस्तावको पक्षमा नै सरकारका सबै घटकले समर्थन गर्नुपर्छ । सरकारमा रहेका वा बाहिर रहेका घटकले प्रस्तावमा भोट हाल्ने नहाल्ने भन्ने उहाँहरूको पार्टीको निर्णय हो। उहाँहरूको पार्टीले गरेको निर्णयलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ । प्रक्रियामा अगाडि बढेका प्रस्तावमाथि निर्णयार्थ जाँदा कुन दल कता जान्छ अझै पनि निर्क्यौल निस्किएको छैन ।’