एमसीसीविरुद्ध प्रदर्शनमा प्रहरीमाथि हमला गर्ने अवस्थीलाई प्रहरीले नै रगत दिएर बचायो

7.8k Shares

काठमाडौं । एमसीसीविरुद्ध काठमाडौंको बिजुलीबजार क्षेत्रमा भएको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका डडेलधुराका २७ वर्षीय हेमराज अवस्थीलाई प्रहरीले नै रगत दिएर बचाएको छ ।

बिहीबार बिजुलीबजार क्षेत्रमा उनी घाइते भएका थिए । उनी कसरी घाइते भए भन्ने खुलेको छैन । टाउकोमा चोट लागेको छ । उनलाई सुरुमा राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो । पछि शल्यक्रियाका लागि अन्नपूर्ण न्युरो अस्पताल रेफर गरिएको थियो ।

गए राति नै उनको अन्नपुर्ण न्युरो अस्पतालमा शल्यक्रिया गरिएको छ । शल्यक्रिया सफल भएको र उनलाई भेन्टिलेटरबाट आईसीयूमा सारिएको तथा स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिएका छन ।

शल्यक्रियाका लागि अवस्थीलाई तीन पाउन्ड  ‘ओ’ नेगेटिभ रगत आवश्यक परेको थियो । जसमध्ये एक पाउन्ड रगत प्रहरीजवान समीनाथ यादवले दिएका हुन् । उनी प्रहरीको एक नम्बर गण नक्सालमा कार्यरत छन् । राति ९ बजे प्रहरी जवान यादवले रगत दिएका थिए ।

उनका बुवा माओवादी केन्द्रका वडा सचिव रहेको पनि खुलेको छ । उनी काठमाडौंमा कोरियन भाषा अध्यापन गराउँदै आएको र घरजग्गा कारोबारमा पनि संलग्न रहेको खुलेको छ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार