काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारबाट आफ्ना मन्त्रीहरुलाई आजै फिर्ता बोलाउने तयारी गरेको छ ।
पछिल्लो समय अमेरिकी सहयोग परियोजना एमसिसीबारे सत्ता नेतृत्व गरिरहेको दल नेपाली कांग्रेससँग मत बाझिएपछि नेकपा माओवादी केन्द्र सरकारमा रहिरहन नैतिक संकटमा छ ।
सरकारबाट कहिले बाहिरिने भन्ने विषयमा अहिले नेकपा माओवादी केन्द्रका नेताहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा छलफलमा जुटेका छन् ।
विहानैदेखि भएको यो छलफलले आजै मन्त्रीहरुलाई सरकारबाट राजीनामा दिन लगाउने तयारी गरेको छलफलमा सहभागी एक नेताले जानकारी दिएका छन् ।
यसअघि बिहीबार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज (शुक्रबार) नै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने बताएका थिए ।
नेकपा माओवादी केन्द्रले यसअघि संसदीय दलको बैठकबाट एमसिसी संसदमा टेबल भएको खण्डमा सरकारमा नरहने र गठबन्धनबाट अलग हुने निर्णय गरेको थियो ।