काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसदबाट अनुमोदन गर्न अमेरिकाले नेपाललाई दिएको अल्टिमेटम अब जम्मा २ दिन बाँकी छ। अर्थात् वाचाअनुरूप नेपालले यही फागुन १६ भित्र एमसीसीको प्रस्ताव प्रतिनिधि सभाबाट पारित गराउनुपर्नेछ। अन्यथा आफूले नेपाल–नीतिमै पुनःविचार गर्ने चेतावनी अमेरिकाले यस अघि नै दिएको छ।
यता नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा केही दिनयता यसैमा सहमति जुटाउन दौडधुपमा ब्यस्त छन । हरेक दिन उनले कहिले प्रमुख प्रतिपक्षी एमाले त कहिले सत्ता गठबन्धकै दलहरूसँग छलफल गरिरहेका छन्।
गत आइतबार प्रतिनिधि सभामा एमसीसी सम्झौता टेबल गराउन सफल भएका प्रधानमन्त्री देउवा सरकारमै रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीका विपक्षमा उभिने अडान लिएपछि ऐमालेको सरणमा पुगेका छन । यता ऐमालेले पनि सर्त राखेपछि देउवा मारमा परेका छन ।
यही कारण एमसीसीबारे सैद्धान्तिक छलफल गर्न भनेर बिहीबार र शुक्रबार दुवै दिनका लागि बोलाइएका संसद् बैठक लगातार स्थगन गर्नुपर्यो। तोकिएको समयसीमाअनुसार एमसीसी पासका लागि सहमति जुटाउन अब आज शनिबार र भोलि आइतबार गरी २ दिन मात्रै समय छ। पर्सि सोमबार त फागुन १६ अर्थात् संसदबाट एमसीसी अनुमोदनका लागि दिइएको अन्तिम समयसीमा हो ।
यसले गर्दा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनका दल र प्रमुख प्रतिपक्षी एमाले दुवै पक्षसँग समानान्तर ढंगले वार्तालाई तीव्रता दिइरहेका छन्। यसअघि पनि पटकपटक छलफल गरेका प्रधानमन्त्रीको पार्टी कांग्रेस र एमालेबीच अझै सहमति भने हुन सकेको छैन।
अब सम्र्पूण कुरालाई नियाल्दा कांग्रेसले अब एमालेसँगै सहकार्य गर्ने सम्भावना बढी देखिएको छ ।