काठमाडौँ । अमेरिकी सहायता परियोजना एमसिसी संसदबाट अनुमोदनपछि सत्ता साझेदार नेकपा माओवादी केन्द्रभित्र विवाद झनै चुलिएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘पार्टीबाट अलग भए रोक्न नसकिने’ अभिव्यक्ति दिएपछि उनीप्रति नारायणकाजी श्रेष्ठ थप असन्तुष्ट भएका छन् ।
प्रचण्डप्रतिको असन्तुष्टि चुलिएपछि नारायणकाजीले अरू दल र नेताहरूसँगको छलफललाई तीव्रता दिएका छन् । आज बिहान मात्रै उनले आफ्नै निवासमा नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सँग भेट गरेका छन् ।
माओवादी विभाजनको हल्ला र एमसिसीप्रति असन्तुष्टहरू कार्यगत एकताको माग भइरहेको बेला नारायणकाजी र विप्लवबीचको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
संसदबाट एमसिसी पारित भएपछि प्रचण्डप्रति नारायणकाजी मात्र होइन गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, अञ्जना विशंखेलगायत पनि असन्तुष्ट छन् । एमसिसीकै कारण माओवादी विभाजनको संघारमा पुगेको पनि आवाज उठ्न थालेका छन् ।