काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छुट्टाछुट्टै भेटवार्ता भएको छ ।
दाहाल र नेपाल प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीको सचिवालयकाअनुसार सुरुमा अध्यक्ष नेपालसगँ वार्ता सकिएपछि माओवादी अध्यक्ष प्रचण्डसँग देउवाले छलफल गरेका थिए ।
दुबै नेतासँग एमसीसी अनुमोदनपछिको सिर्जित अवस्था, समयमै कार्यान्वयन, संसदको अवरोध अन्त्य गराउने प्रयास, मन्त्रिमण्डल विस्तार (उद्योग र रक्षा मन्त्री छनोट), एमसीसीले माओवादीमा देखिएको आन्तरिक विवाद, स्थानीय तहको निर्वाचनमा गठबन्धनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएपछि दाहाल र नेपालले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । गठबन्धनमा चर्को विवाद र बहसका बीच गठबन्धन सरकार जोगाउनुपर्ने भन्दै प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित आइतबार एमसीसी सम्झौता अनुमोदन भएको थियो ।
सत्ता गठबन्धन दलहरु अब स्थानीय तहको निर्वाचनको तयारीमा जुटेका छन् ।