काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले एमसीसी संसदबाट अनुमोदन गरिएपनि यसलाई ३० दिनभित्रै खारेज गर्ने चेतावनी दिएका छन ।
गजुरेलले अन्य सम्झौतामा झैं एमसीसी सम्झौतामा पनि ३० दिनको सूचना दिएर खारेज गर्न सकिने प्रावधान रहेकाले आफ्नो दल र मोर्चासहित ६ वटा दलले आन्दोलनको घोषणा गरेको जानकारी दिएका छन ।
गजुरेलले एमसीसी सम्बन्धनमा श्रीलंकाले पनि संसदबाट अनुमोदन गरिसकेपछि ३० दिनभित्रै खारेज गरेको उदाहरण प्रस्तुत गर्दै त्यही अभ्यासका आधारमा सडक संघर्षको कार्यक्रम तय गरिएको पनि प्रष्ट पारेका हुन् ।
उनले भने, ‘सडकदेखि सदनसम्मको आन्दोलनले अझै पनि यसलाई चर्काउन सकियो भने व्यवहारिक रुपमै खारेज गराउन सकिन्छ भन्ने विश्वासले नै हामी संघर्षमा उत्रिएका हौं।’
संसदबाट पारित भइसकेको विषयमा दुई मोर्चासहित ६ वटा राजनीतिक दलहरूले सस्तो लोकप्रियताका लागि आन्दोलनको घोषणा नगरेको उनले बताए । देशका प्रमुख दल र नेतृत्वमै एमसीसीको विषयमा विमति रहेको र एमसीसीको विपक्षमा रहेका जनताको चाहना अनुसार सडक संघर्षमा आफूहरू रहेको उनको भनाइ छ ।
सुरुमै एमसीसीलाई रोक्न सकेको भए राम्रो हुने भएपनि त्यसो गर्न नसकिएको नेता गजुरेलको भनाई छ । उनले संसदबाट एमसीसी अनुमोदन गरेर अमेरिका नेपाल प्रवेश गरिसकेको र त्यसको प्रारम्भिक असरसमेत देखिन थालिसकेको दावी गरेका छन ।