माओवादी केन्द्र पनि अन्ततः फुटको संघारमा, श्रेष्ठ समूहको प्रचण्डसँगको सहकार्य अव समाप्त भएकै हो त ?

10.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । महाधिवेशनको निर्णय विपरीत अमेरिकी सहयोग परियोजना मिले नियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गरेसँगै सत्तारुढ दल नेकपा माओवादी केन्द्र पनि फुटको संघार तर्फ लम्किएको छ । विवाद चर्किदा वरिष्ठ नेता श्रेष्ठले एमसीसी अनुमोदनको दिनलाई ‘कालो दिन’ को घोषणा समेत गरिसकेका छन् ।

एमसीसी अनुमोदनमा सहयोग गरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी निर्णयको गम्भीर उल्लङ्घन गरेको असन्तुष्ट पक्षको आरोप छ । साथै पार्टीको क्रान्तिकारी छवि समेत धुमिल पारेकाले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा अब आफूहरु रहिरहन नसक्ने नेता नारायणकाजी श्रेष्ठ पक्षले निष्कर्ष निकाली सकेको छ । 

अध्यक्ष प्रचण्डको कार्यशैलीलाई लिएर माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठसहित लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशिखे, पेशल खतिवडा लगायतका नेताहरू रुष्ट बनेका छन् ।

श्रेष्ठलाई फकाउन प्रचण्ड हात्ती वनमा
श्रेष्ठ समूह रुष्ट बनेपछि अध्यक्ष प्रचण्ड मङ्गलवार श्रेष्ठलाई फकाउने नियतका साथ हात्ती वन पुगेका थिए । मङ्गलवार को भेटवार्ता खासै निश्कर्षमूलक नबने पछि श्रेष्ठ  बिहीबार बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमै पुगेका थिए ।

दुवै भेटवार्तामा अध्यक्ष प्रचण्डले नेता श्रेष्ठलाई पार्टी विभाजनको बाटो नरोज्न आग्रह गरेका थिए । जवाफमा श्रेष्ठले पत्रकार सम्मेलन गरेर आफूमाथि बढाएको दबाबको विषयमा उल्टै प्रति प्रश्न गरेका थिए । राजनीतिक जगतका निकै चतुर खेलाडी मानिने प्रचण्डले श्रेष्ठलाई फकाउने हिसाबले आफू अवेशमा  आएर त्यसो भनेको जवाफ दिएका थिए । 

प्रचण्डसँगको भएको सहकार्य अव समाप्त भएकै हो त ?
यसरी प्रचण्डसँग खटपट भएपछि पूर्व एकता केन्द्र पक्षधर नेताहरूले बुधवार र बिहीबार आफूहरू अब कसरी अघि बढ्ने भनेर ललितपुरमा गोप्य छलफल समेत गरेको स्रोतले जनाएको छ । उक्त छलफलले प्रचण्डसँगको सहकार्य अव लगभग समाप्त भएको निष्कर्ष निकालेको छ । प्रचण्डले एमसीसी पास गरेपछि वामपन्थी पार्टीहरू विप्लव समूह र मोहन विक्रम नेतृत्वको मसालका नेताहरूले समेत नयाँ ढङ्गले ध्रुवीकरण थाल्न सुझाव दिएका छन्  । 

भेलामा सहभागी अधिकांशले नेताहरूले अलग पार्टी बनाउनुपर्ने सुझाव दिएका छन् ।  पार्टीमा फागुन २० बाट सुरु हुने केन्द्रीय कमिटी बैठक नै बहिस्कार गर्नुपर्ने समेत बैठकमा आवाज उठेको छ । 

यता श्रेष्ठ निकट मानिएका नेता गिरिराजमणि पोखरेलले आफूहरूले महाधिवेशनको स्प्रिटमा मात्रै चल्नुपर्छ भन्ने मान्यता अघि सारेको बताउँदै शुक्रबारबाट हुने केन्द्रीय कमिटी बैठकमा आफूहरू सहभागी हुने बताएका छन् । उनले विभिन्न पक्षबाट छलफल र कुराकानी भइरहेको भन्दै अहिले नै केन्द्रीय कमिटी बैठक बहिस्कार गर्ने वा फरक पार्टी घोषणा गर्ने भन्ने निर्णय भई नसकेको पनि बताए । 

यता एमसीसी टेबल गर्न नुहुने माग राख्दै फागुन १ बाटै माओवादी केन्द्र विरोधमा उत्रिएको थियो । सडकमा मात्रै होइन प्रतिनिधिसभा बैठकमा पनि एमसीसीविरुद्ध नाराबाजीमा उत्रिएको थियो । बाहिर हजारौँको सङ्ख्यामा कार्यकर्ता उतारेर भित्र चुच्चो मिलाउन प्रचण्ड ठिक्क भए । उनको यही दोचारे प्रवृत्तिले माओवादीमा झन् विवाद बढेको हो ।

ताजा अपडेट
सम्बन्धित समाचार