काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन आगामी चुनावसम्म जाने निश्चित भएको दाबी गरेका छन् ।
प्रतिनिधिसभाबाट एमसीसी पास भएसँगै गठबन्धनभित्र देखिएको अन्योलता हटेको बताउँदै प्रचण्डले अबचाहिँ गठबन्धन चुनावसम्मै जाने निश्चित भएको दाबी गरेका हुन् ।
पार्टीको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देशको राजनीतिले नयाँ कोर्स पक्रिएको बताएका छन । ‘गठबन्धन टुट्ने हो कि राष्ट्रिय राजनीति नै फेरि अन्योल र प्रतिगमनतिरै जाने हो कि भन्ने महसुश गरिएको थियो’ उनले भने ।
प्रचण्डले निरन्तर संसदमा अवरोध हुन नसक्ने भन्दै प्रतिपक्षी सदन खुलाउन तयार नभए नयाँ विकल्पमा जानुपर्ने पनि धारणा राखेका छन ।