काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी बैशाख ३० मा हुने स्थानीय चुनावपछि मात्रै पदाधिकारी छान्ने भएको छ ।
पदाधिकारीबारे सहमति र त्यसको गृहकार्य बाँकी नै रहेकाले पदाधिकारी छनोट स्थानीय चुनावपछि मात्रै हुने भएको हो ।
आजको केन्द्रीय कमिटी बैठकले केन्द्रीय समितिलाई पूर्णता दिने र नेताहरुको कार्यविभाजन गरेर सक्ने तयारी रहेको नेता शक्ति बस्नेतले जानकारी दिएका छन् ।
शुक्रबार सुरु भएको सो पार्टीको बैठक आइतबारका लागि तय भएपनि स्थगन गरेर नेताहरु सहमतिको प्रयासमा जुटेका थिए । तर, महासचिव लगायतका पदमा सहमति नजुटेपछि माओवादीमा पदाधिकारी चयन नगरी बैठक सक्ने तयारी भएको हो ।
आज बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा नेताहरुबीच भएको छलफलमा पनि पदाधिकारी चयन निर्वाचनपछि नै गर्नेगरी छलफल भएको हो ।
शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक अवस्था, एमसीसी र स्थानीय निर्वाचनबारे ब्रिफिङ गरेका थिए । त्यस्तै अर्का नेता नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राख्दै एमसीसी अनुमोदनप्रति असन्तुष्टि जनाएका थिए ।