काठमाडौँ । नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एससीसी) सम्झौता बुझाउन नागरिकलाई घर–घरमा पुस्तिका पुर्याउने भएको छ ।
संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी विकास परियोजना रहेको बुझाउन पुस्तिका तयार गरिएको हो । पुस्तिकासहित भिडिओ पनि बनाउने क्रममा रहेको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिएका छन् ।
चुनावी प्रचार अभियानसँगै एमसीसीको भ्रम हटाउने उनको भनाई छ । खड्काले भने, ‘चुनावी अभियान फागुन २९ गतेबाट सुरु हुन्छ। एमसीसीको सत्यता के हो भनी कांग्रेसले घर घरमा पुस्तिका पठाउँछ।’
फागुन २० गतेदेखि सुरु गर्ने तय गरिएको प्रचार अभियान ९ दिन पछि सारिएको छ। फागुन २९ देखि चैत २९ सम्म प्रचारात्मक अभियान गरिने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन ।
संगठन सुदृढीकरणसहित स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउने लक्ष्य राखेर ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गरिने उनको भनाई छ ।
प्रचार अभियानमा ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटिने छन् । चुनावी प्रसारलाई वृहत् गराउने उद्देश्यले अभियानको घोषणा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाबाट हुने बताइएको छ।