काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले राष्ट्रको समृद्धि र विकासका लागि अमेरिकी सहायता परियोजना (एमसीसी) प्रतिनिधि सभाबाट पास गरिएको बताएका छन्।
आज गृहमन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री खाँडले एमसीसी पास भएपछि नेपालमा विदेशी सेना आउछ भन्ने मानसिकता नराख्न आग्रह गरेका छन ।
गृहमन्त्री खाँडले भने, ‘एमसीसी हामीले राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधि सभाबाट पारित गरेका हौं। एमसीसी पास भएका कारण कुनै विदेशी सेना नेपालमा आउदैन।’
एमसीसी पास भएपछि अन्तर्राष्ट्रिय विश्वसनीयता कायम हुने र दातृ निकायले भरोसा कायम गर्ने वातावरण निर्माण भएको उनको भनाइ छ।
मन्त्री खाँडले एमसीसीबाट विद्युतमा विकास, गरिवी निवारण र भौतिक विकासमा सहयोग पुर्याउने बताएका छन्। खाँडले एमसीसीले दिएको सहयोगको ठूलो हिस्सा विद्युतको ट्रान्समिसन लाइन निर्माणमा र केही सडक निर्माणमा प्रयोग गरिने बताएका छन्।
मन्त्री खाँडले राष्ट्रियतालाई सवल बनाउन एमसीसी ल्याइएको उनको भनाई छ । उनले नेपालमा उत्पादित विद्युत खपतका लागि आवश्यक ट्रान्समिसन लाइन एमसीसीमार्फत आउने सहयोगबाट निर्माण हुने बताएका छन्।