काठमाडौँ: आज ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अर्थात नारी दिवस । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले ८ मार्च सन् १९११ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिन । यो दिवस मनाईरहँदा महिला दिदी बहिनिहरुको कहाली लाग्दो जिवन मानसपटलमा घुमिरहन्छ ।
न त कुनै फलामका ढोकाहरु छन् न कुनै सुरक्षा गार्ड नै
भनिन्छ, मानिस सबै प्राणी भन्दा सर्वश्रेष्ठ मानिने स्वतन्त्रप्रेमी हो । आफ्नो जीवनमा कसैको पनि हस्तक्षेप नहोस भन्ने चाहना सबैको हुुन्छ । पंक्षी जस्तै खुला आकाशमा उड्न अनि स्वतन्त्रतापूर्वक आफ्नो जिवन बाँच्ने चाहना कस्को पो नहोला र ? बिडम्बना भन्नुु पर्छ महिला राष्ट्रपति भएको देश नेपालका नारीहरु आज पनि स्वतन्त्र छैनन् । स्वतन्त्र भन्नुुको तात्पर्य कैदि बनाइनुु वा यातना दिनु मात्रै हुुदैन । यहाँ न त कुनै फलामका ढोकाहरु छन् न कुनै सुरक्षा गार्ड नै । तर पनि हरेक नारी आफूलाई कैदमा भएको महशुस गर्छिन् त्यो पनि विना कुनै दोष ।
महिला राष्ट्रपति भएको देशका नारीको अस्मिता दिनहु लुटिन्छ ।
विहान घरबाट निश्किदा देखि र बेलुुका छोरी घर नर्फकदा सम्म आमाका आँखा बाटो तिर नै हुुन्छन् । आमाको मनमा खेलिरहेको कुुरा र उठिरहेको प्रश्न जो कोहिले सजिलै पढ्न र बुझ्न सक्छन् । किन भने बिहान सकुशल घरबाट निश्केकी छोरी बालात्कृत भएर आउली, कि कुनै झाडी तिर लास भेटिने हो, यहि प्रश्न आमाको मानसपटलमा खेलिरहेको हुन्छ । सत्य अनि तितो यथार्थ यहि हो नेपालको । महिला राष्ट्रपति भएको देशका नारीको अस्मिता दिनहु लुटिन्छ । निर्मला पन्त देखि भागीरथी भट्ट सम्मका हरेक छोरी आज छोरी भएकै कारण मर्नु परेको छ ।
लड्न जानु त धेरै परको कुुरा साहानुभूति देखाउन पनि कञ्जुस्याइँ गर्नु हुुन्छ ।
सुरक्षित हुनु त धेरै टाढाको कुरा सुरक्षित महशुष समेत गर्न सक्दैनन् । के राष्ट्रपतिको भुमिका कुर्सिमा बस्ने,समारोह उद्घाटन,भाषण दिने मात्रै हो ? राष्ट्रपति ज्यूलाई सामान्य प्रश्न के तपाँई कहिलै बलात्कृत नारीको लागी लड्नुु भएको छ ?नारी भएर नारी हितका लागी कति संर्घर्ष गर्नुु भएको छ ?
लड्न जानु त धेरै परको कुुरा साहानुभूति देखाउन पनि कञ्जुस्याइँ गर्नु हुुन्छ । हामीलाई सहानुभूति होईन साथ चाहिएको छ । नारी शक्तीको नेतृत्व गर्ने राष्ट्रपति चाहिएको छ । समाजलाई शिक्षित गर्ने कार्यक्रम चाहिएको छ ।
महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्छ भन्ने राष्ट्रपतिको सन्देश हरेक बर्षको नारी दिवसमा आउँछ तर, कार्यन्वयन भने राष्ट्रपतिबाटै हुुदैन । हाम्रो समाज जति शिक्षित भए पनि महिला र पुरुषको जीवनको धार र जीवन जीउने शैली बेग्ला बेग्लै बनाइएको छ ।
...महिलाले त्यो बेला पनि चुलो चौको गर्थे र हाल पनि त्यहि कुरामा सीमित छन ।
जति पुरुषका लागी सजिलो छ हाम्रो समाज त्यति नारीका लागी छैन । ढुङ्गे युगदेखि अहिलेको बैज्ञानिक युगसम्म आइपुग्दा सोचमा केही परिवर्तन भएता पनि महिलाले त्यो बेला पनि चुलो चौको गर्थे र हाल पनि त्यहि कुरामा सीमित छन । काम उही छ, चुलो र चौको ।
नेपाली समाज पितृसतात्मक सोचबाट ग्रस्त छ
जनसंख्याको ३ तिहाइ भाग ओगटेका महिलाका आफ्नै समस्या र चुनौतीहरू विद्यमान छन् । नेपाली महिलाका लागि सामाजिक परिवेश विशिष्ट खालको छ । उनीहरू स्वंय पनि अझै चुलाचौकाको घेराबाट मुक्त हुन सकिरहेका छैनन् भने समाजले पनि बाहिर ल्याउने वातावरण दिन सकेको छैन । नेपाली समाज पितृसतात्मक सोचबाट ग्रस्त छ । यही सोचबाट उत्पन्न क्रियाकलापले नेपाली महिलाहरू अहिले पनि उपेक्षित बन्नुपर्ने अवस्था छ ।
अफसोच महिलाहरु सधै एक कठपुतली जस्तै भएर बस्न अनि एक पराजित मानसिकता लिएर बाँच्न बाध्य छन । महिलाका स्वतन्त्रताको सवालमा धेरै बहसहरू चलिरहेका छन् । महिलाका हकहितमा काम गर्ने नाममा गैरसरकारी संस्था स्थापना गर्ने त होडबाजी नै चलेको छ । जव नारीले आफ्नो जिवन र विश्राम साथ खोज्छे तव नारी स्वतन्त्रता केवल कुरा र नारामा मात्र सिमित हुन्छन् ।
निर्वाचित भएका महिलाहरुले आफ्नो ठाउँका महिलाका समस्याहरु निराकरण गर्नै सकेनन्
प्रजातन्त्र स्थापनापछिको सात दशकमा महिला राज्यका उच्च तहमा नपुगेका भने होइनन् । इतिहासमै पहिलोपटक नेपालले राष्ट्रप्रमुख अर्थात राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुखमा ओनसरी घर्ती र प्रधानन्यायाधीशमा सुशीला कार्कीलाई पायो । मुलुकको राष्ट्राध्यक्षदेखि व्यवस्थापिका र न्यापालिकाको प्रमुखसम्म महिला आए पनि त्यसले भुइँ तहका महिलाको जीवन र समस्यामा केन्द्रित भएर काम गर्न सकेका छैनन् ।
संविधानसभाबाट जारी नयाँ संविधानले राज्यका हरेक निकायमा महिलाको उपस्थिति ३३ प्रतिशत तोकेको छ । २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ ६ र समानुपातिकतर्फ ८४ गरी ९० जना अर्थात् झण्डै ३४ प्रतिशत महिला निर्वाचित भएका छन्। स्थानीय सरकारमा पनि महिला उपप्रमुुखमा बाहुल्यता रहेको छ । गाविस र नगरपालिकाका वडाहरूमा एक महिला सदस्य अनिवार्य निर्वाचित गर्नुपर्ने व्यवस्था छ। तर, तिनै निर्वाचित भएका महिलाहरुले आफ्नो ठाउँका महिलाका समस्याहरु निराकरण गर्नै सकेनन् या भनौ गर्न चाहेनन् । अनि कुुन आधारले मनाउँदै छन् नारी दिवस । सधै सत्ताको पछि हैन छोरी चेलीका समस्यामा ध्यान जाओस् अन्तर्राष्ट्रिय नारी दिवसको शुुभकामना ।