काँग्रेस सिन्धुपाल्चोकको अधिवेशन आजबाट सुरु,यस्तो छ निर्वाचन कार्यतालिका

12k Shares
सम्बन्धित पार्टी

काठमाडौँ :  नेपाली काँग्रेस सिन्धुपाल्चोकको अधिवेशन आजबाट सुरु भएको छ ।
 
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजबाट जिल्ला अधिवेशन सुरु भएको हो । विभिन्न कारणले पटक–पटक तय भएर पनि हुन नसकेको अधिवेशन आजबाट सिन्धुपाल्चोकको चौतारामा हुँदैछ । 

अधिवेशन अन्तर्गत भोलि फागुन २८ गते नयाँ नेतृत्व चयनका लागि मतदानको कार्यक्रम हुने नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले जानकारी दिएका छन् । अधिवेशन अन्तर्गतको निर्वाचनका लागि कार्यक्रम तालिका र मतदाता नामावली सार्वजनिक भइसकेको छ । 

जिल्ला सदरमुकाम चौतारास्थित काँग्रेस पार्टी कार्यालयमा शुक्रबार दिउँसोबाट मनोनयन दर्ता सुरु हुने छ । शुक्रबार विहान १०ः३० बजदेखि १२ः३० बजेसम्म सरोकारवालासँग छलफलको कार्यक्रम रहेको छ भने त्यसपछि लगत्तै मतदाता नामावली सार्वजनिक गरिने छ ।

दिउँसो १ः३० बजेदेखि ३ः३० बजेसम्म मनोनयन दर्ताको कार्यक्रम संचादन गर्ने कार्यतालिका रहेको उनको भनाई छ । ४ः१५ मा उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिने र ५ः४५ बजेसम्म उम्मेदवारी माथि दावी विरोधको समय रहेको उनले बताए । साँझ ६ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । 

अधिवेशन अन्तर्गत मतदानको कार्यक्रम भने शनिवार हुनेछ । बिहान ८ बजेबाट मतदान सुरु हुने र अपरान्ह ३ः३० बजेसम्म चल्ने छ । अपरान्ह ४ः१५ बजेबाट मतगणना हुने छ । जिल्ला नेतृत्वका लागि ३ जना चुनावी दौडमा रहेका छन् । नेतृत्व हत्याउने दाउमा वंशलाल तामाङ, डा. प्रेमध्वज लामा र जंगबहादुर लामा निर्वाचनमा होमीएका छन् । तामाङ संस्थापन इतर पक्षका हुन् भने अन्य दुई उम्मेदवार प्रेमध्वज लामा र जंगबहादुर लामा संस्थापन पक्षका मानिन्छन् ।

क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संख्याका आधारमा भने जिल्लामा संस्थापन पक्षले बलियो देखिन्छ । संस्थापन इतरका सभापतिका लागि चुनावी माहोलमा होमिएका तामाङ गाउँपालिका महासंघका महासचिवसमेत हुन् । उनलाई जिल्ला सभापति विकास लामा र सचिव बिलबहादुर तामाङले पनि सहयोग गरेको बुझिएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार