राजश्व छली आरोपमा कोकाकोलाविरूद्ध साढे ७ अर्बको मुद्दा दायर

9.7k Shares

काठमाडौँ । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गरेको आरोपमा कोकाकोला र त्यसका सञ्चालकविरूद्ध शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। 

तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रूपैयाँ बिगो र बिगो बराबर जरिवाना गरी जम्मा सात अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रूपैयाँ माग्दै विभागले मुद्दा दायर गरेको हो। विभागले सञ्चालकहरूसमेत गरी १७ जनालाई प्रतिवादी बनाएको छ।

बोटलर्स नेपाल लिमिटेडसमेत रहेको उक्त मुद्दामा कोकाकोलाका अध्यक्ष सुक्ला वासन, निर्देशकहरू मोहम्मद अमिन घोनेइम, मेल्भिम तान चुन पिङ, गौरब खोस्ला, सुन्दीप बावझरिया, देबब्राटा मुखर्जी, सुमानता दत्त, जावहर सोलाई कुप्पुस्वामीलाई प्रतिवादी बनाइएको छ। 

यसैगरी, कम्पनीका प्रबन्ध निर्देशक, आर्थिक कारोबार तथा लेखा परीक्षणको मुख्य जिम्मेवारीमा रहेका ८ जनालाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ। उनीहरूमा प्रबन्ध निर्देशक प्रदीप पाण्डे, पुनित चन्द्रपाल भर्साने, फाइनान्स म्यानेजर राजीभ टण्डन, भरतबाबु दाहाल, सुमित गोयल, फाइनास्स कन्ट्रोलर अशोककुमार मण्डल, बोर्ड डाइरेक्टर त्रिलोचन उप्रेती र चार्टर्ड एकाउन्टेन्ट सञ्जीवकुमार मिश्र छन्। 

उनीहरू सबैलाई बिगो ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ बिगो, बिगो बराबर जरिवाना र कैदसमेत माग गरिएको छ। 

ताजा अपडेट
सम्बन्धित समाचार