काठमाडौं । माओवादी केन्द्रका नेता रामनारायण बिडारीले जनमुक्ति सेनालाई बदनाम गर्ने प्रकाश सपुतलाई कपुतको संज्ञा दिएका छन् ।
“म गीत भिडियो हेर्ने मान्छे परिनँ । प्रकाश सपुतले कसैको चरित्र हत्या गर्न खोजेका हुन् भने उनलाई मुलुकको फौजदारी संहिता र प्रचलित कानुन अनुसार कठघरामा उभ्याउन सकिन्छ । जनमुक्ति सेनाका कारण नै आज उनले फुर्ति लगाएर हिँड्न पाएका हुन्, बोल्न र गाउन पाएका हुन् । जसले अधिकार दियो, उसैलाई बदनाम गर्न खोज्ने कपुत बन्न हुन्छ ? ” उनले भने ।
उनले म्युजिक भिडियो हटाए भने प्रकाश सपुतलाई एक पटकका लागि माफी दिन सकिने पनि उल्लेख गरेका छन् । बिडारीले भने, “प्रकाश सपुत सर्जक हो । गल्ती भो भनेर युट्युबबाट हटाए भने एकपटकका लागि माफी दिन सकिन्छ । तर यो मेरो फाइनल कुरा होइन । यसमा प्रकाश सपुत फसेको जस्तो लाग्छ । उनले समयमै बेठीक दृश्य हटाएर जनमुक्ति सेनालाई लाल सलाम गर्नुपर्छ ।”
माओवादी लडाकुको व्यवस्थापन गर्ने वातावरण बन्नुपर्ने पनि उनको भनाई छ । उनले भने, “अहिलेसम्म माओवादीले एक्लै सरकार चलाउन पाएको छैन । अब एकपटक एकलौटी जिताउने हो भने हामी कसरी सरकार चलाउँछौं, त्यो देखाउँछौं ।”