मुलुकमा गणतन्त्र ल्याउने दलहरूबीच नै विवाद उत्पन्न हुनु अशोभनीय छ : अध्यक्ष तिमिल्सिना

9.2k Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा गणतन्त्र ल्याउने दलहरूबीच नै विवाद उत्पन्न हुनु अशोभनीय भएको बताएका छन् । 

सोमबार बागलुङस्थित धौलागिरि अस्पतालमा एक स्वास्थ्य शिविरको उद्घाटन गर्दै तिमिल्सिनाले गणतन्त्र कार्यान्वयन गर्ने बेला झगडा गर्दा सयौं वर्षको उपलब्धी गुम्ने खतरा देखिएको बताएका हुुन्। 

उनले भने, ‘मिलेर लड्यौं, सबैको पहलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो तर कार्यान्वयनमा झगडा किन ?’  ‘गणतन्त्रलाई नैतिकता, त्याग र संघर्षको उपलब्धि नभई पैसावालाको बोलावाला बनाउन खोजियो ।’
 
निर्वाचन नजिक आइरहेका बेला निष्ठाको नेतृत्व खोज्ने बेलामा कोसँग पैसा छ भनेर खोज्ने बेला आएको प्रति टिप्पणी समेत गरेका छन् । उनले आगामी निर्वाचनमा एउटै मञ्चमा बसेर प्रचार गर्ने व्यवस्था गर्न दलहरूलाई आग्रह पनि गरेका छन्।

जुन सरकारले गरे पनि राम्रा कामलाई अनुशरण गर्ने र अपनत्व लिएर थप काम गर्ने वातावरण बनाउन उनको आग्रह थियो । उनले धौलागिरि अस्पतालमा पछिल्लो समयमा भएको सुधारको प्रशंसा गरेका छन् ।

उनले भने,  ‘कोभिडको संकटले सम्भावना पनि दिएको छ‚ हिजोको ५० शय्याको अस्पताल अब २ सय शय्याको हुने भयो ।’ कोरोना संक्रमणपछि सुधार भएको अस्पतालले सम्भावनाको ढोका खोलेको भन्दै अस्पतालको प्रशंसा गरे । 

 

ताजा अपडेट
सम्बन्धित समाचार