काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारले पार्टी बनाउने बहानामा कार्यकर्तालाई रकम वितरण गरेको आरोप लगाएकी छन् ।
पूर्वमुख्यमन्त्री समेत रहेकी शाक्यले प्रदेश सरकारले पार्टीमा कार्यकर्ता बढाउनका लागि मुख्यमन्त्री राजेन्द्र पाण्डेले ५ लाख रुपैयाँको योजना वितरण गरेको आरोप लगाएकी हुुन् ।
उनले सदनबाट बहुमतले पास गरेको बजेट रकमान्तर गरी संविधान र कानुनभन्दा बाहिर गएर सरकारले काम गरेको आरोप लगाइन् । सोमबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै शाक्यले सरकार संविधानअनुसार नभएर स्वेच्छाचारी ढंगबाट अगाडि बढिरहेको बताइन् ।
उनले भनिन्, ‘सरकार चलाउन र रकम चलाउन पायो भन्दैमा जे पनि गर्न मिल्छ । ५ लाखले के योजना पूरा हुन्छ ? यो कार्यकर्तालाई खुसी बनाउन दिने रकम मात्र हो । प्रदेशको ५ लाखको दरले योजना वितरण गर्ने नाममा कार्यकर्तालाई पैसा बाँड्न मिल्छ ? नयाँ पार्टी जनताले बनाउने विषय हो । पैसाले होइन । मुख्यमन्त्रीज्यू धेरै चिन्ता नगर्नुस् , कार्यकर्तालाई खुसी बनाउन पैसा बाँड्ने काम नगर्नुहोला । अनुशासनहीन काम नगर्नुहोला । मितव्ययी, पारदर्शी, संस्कारयुक्त सोच र आर्थिक प्रणालीको विकास हामीले नै गर्ने हो । ’
उनले सरकार जवाफदेही र पारदर्शी नभएको आरोपसमेत लगाएकी छन् । शाक्यले अघिल्लो सरकारले गरेको राजनीति नियुक्त खारेज नगर्न र कर्मचारीलाई दबाब दिएर राजीनामा दिन नलगाउन समेत सुझाइन् ।