काठमाडौं । नेकपा एमालेका नेता भीम रावल प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि लगाएको आरोपको प्रतिवादका उत्रिएका छन् ।
सोमबार नुवाकोटमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले रावल मन्त्री भएकै बेला एमसीसी सम्झौता मन्त्रिपरिषदबाट पारित भई संसदमा पेश भएको र त्यतिबेला किन प्रश्न नगरेको र अहिले किन टाउको दुखेको भनी प्रश्न गरेका थिए ।
यस्तै जवाफमा रावलले आफू मन्त्री भएका बेला मन्त्रिपरिषदबाट एमसीसी पारित नभएको जिकिर गरेका छन् । रावलले सामाजीक सञ्जाल ट्विटरमार्फत जवाफ दिएका छन् ।

उनले भनेका छन् ‘म केपी ओलीजी पहिलो पटक प्रधानमन्त्री भएको बेला उपप्रधानमन्त्री र रक्षामन्त्री थिएँ । ओलीले एमसीसीसँगको सम्झौता संसदमा ल्याएको बेला होइन । अतः मेरो मन्त्रिपरिषदमा सहमति रहेको भन्ने कुरै रहेन । ’
नेता रावलले प्रधानमन्त्रीले आफूमाथि तुच्छ शब्द प्रयोग गरेको भन्दै पदीय मर्यादा कायम गर्न आग्रह गरेका छन् । ‘देशको प्रधानमन्त्रीले प्रयोग गरेका तुच्छ शब्दहरु लोकतन्त्रमा त्याज्य भएकोतर्फ ध्यान दिए तपाईंको पदीय मर्यादा कायम रहला । ’
उनले एमसीसी सम्झौता देशको हितमा नरहेकाले राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर आफ्नो टाउको दुखेको पनि प्रष्टीकरण दिएका छन् । देउवाले संसद नियमावली र संविधान मिचेर, जनआवाजमाथि दमन गरेर बाह्य शक्तिलाई रिझाउन होहल्लाका बीच एमसीसी अनुमोदन गराएको उनको टिप्पणी छ ।