काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भुमिका खेल्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सोमवार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन पार्टीका नेता तथा कार्यकर्तालाई स्थानीय तहमा प्रभावकारी बनाउन महत्त्वपूर्ण भुमिका खेल्न निर्देशन दिएका हुुन् ।
उनले प्रत्येक केन्द्रीय सदस्यहरूलाई आफ्नो कार्य क्षेत्रमा उपस्थित भएर आउँदो स्थानीय तहको चुनावमा पार्टीलाई जिताउने अभियान सुरु गर्न लगाइने बताएका छन् ।
गाउँ, नगर, वडालगायतका पार्टीका विभिन्न तहसँग समन्वय गरेर पार्टीलाई अझै प्रभावकारी बनाउनुपर्नेमा यादवले जोड दिएका छन् ।
अध्यक्ष यादवले भने , ‘प्रत्येक केन्द्रीय सदस्यहरूले आफूले जिम्मा लिएको पालिकालाई जिताउनका लागि एउटा भरपुर प्रयास गरौँ । यो दुई महिना, वैशाख ३० गतेसम्मका लागि यो अभियान गर्नेछौँ । त्यसपछि फेरि हामी नयाँ निर्णयहरू गर्नेछौँ । चुनाव नजिकिएको हुनाले र र पार्टीलाई स्थापित गर्नका लागि स्थानीय चुनाव महत्त्वपूर्ण भएकाले यसलाई हामीले धेरै भन्दा धेरै पालिकामा पार्टीका उम्मेदवारलाई जिताउनुपर्छ ।’