काठमाडौँ । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जनता समाजवादी पार्टीमा आफूमाथि दुर्व्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताएका छन् ।
मेयर सरावगीले आफुले जनता समाजवादी पार्टीलाई महानगरमा जिताएको भएपनि पार्टीभित्र दुर्व्यवहार हुने गरेकाले सो पार्टी परित्याग गरी एमले प्रवेश गरेको बताएका हुन् ।
विगतमा आफुले जसपा छोड्न दुई पटक राजीनामा दिएको भएपनि अध्यक्ष उपेन्द्र यादवले रोकेको पनि उनको भनाई छ । आफुलाई सामाजिक रुपमा मानमर्दन गर्ने काम नरोकिएकोले आफुले नयाँ पार्टी रोज्नुपरेको उनले स्पष्ट पारेका छन् ।
उनले भने, ‘पूर्ण रुपमा यो महानगरपालिका र पुरै पर्सा जिल्ला जिताएर पनि जुन ढंगले मलाई पार्टीले राख्नुपर्थ्यो । किनभने म त राजनीतिक पृष्ठभूमिबाट आएको थिइन । म आर्थिक र सामाजिक पृष्ठभूमिबाट आएको व्यक्ति थिए । जनताले मलाई माया गरेर त्यतिबेला मेयरमा चुनाव पनि जिताए । त्यसपछि पार्टीले जुन ढंगले मलाई ट्रिटमेन्ट गर्नुपथ्र्यो, जुन ढंगले मलाई राख्नुपर्थ्यो नराख्न सकेको कारणले गर्दा दुई पटक मैले राजीनामा पनि दिए । राजीनामा दिँदादिँदै पनि अध्यक्ष उपेन्द्र यादवजीले त्यतिबेला मलाई रोक्ने प्रयास धेरै गर्नुभयो । म रोकिए पनि । तर लगातार मसँग दुर्व्यवहार हुने, सामाजिक रुपमा मलाई जहिल्यै पनि एक प्रकारको मानमर्दन गर्ने जुन कामहरु भइराखेका थिए। मैले अध्यक्षजीलाई पहिला पनि भनिसक्या थिए कि, म यो यो ढंगले पार्टीमा बस्दिन । र त्यो कारणले गर्दा मैले एउटा नयाँ पार्टी रोजे ।’
मेयर सरावगीले एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रिय भावना र उनको विकास प्रतिको चाहनाबाट प्रेरित भएका कारण एमाले रोजेको बताएका छन् । उनले एमालेमा कुनै पद पाउनका लागि शर्त गरेर नगएको समेत बताए । पार्टीले आफ्नो काम र प्रस्तुति हेरेर जुन जिम्मेवारी दिन्छ, सोही जिम्मेवारी लिने पनि उनले बताए ।