खेल क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ : जीवनबहादुर शाही

9.8k Shares

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले खेल क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

प्रदेश खेलकुद विकास परिषदद्वारा मंगलवार सुर्खेतमा आयोजित खेलाडीसँग मुख्यमन्त्री कार्यक्रममा उनले प्रदेशकै पहिलो गौरवको आयोजनाका रूपमा रंगशाला निर्माणदेखि खेलाडी प्रोत्साहनलाई प्राथमिकता दिएको बताएका छन् ।

मुख्यमन्त्री शाहीले रंगशाला निर्माण नहुञ्जेल खेल गतिविधि सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले अस्थायी खेल मैदान निर्माणको योजना अघि बढाउने तयारी भइरहेको जानकारी दिएका छन् ।

 ‘रंगशाला निर्माणको अवधि ३० महिना छ, समयमै पूरा गराउन सरकारको तर्फबाट आवश्यक सहयोग र निगरानी भइरहेको छ,’ उनले भने, ‘तत्काल अस्थायी खेल मैदान बनाउन नीतिगत निर्देशन दिएपछि विभागीय मन्त्रालय बजेट व्यवस्थापनमा जुटेको छ ।’

उनले वीरेन्द्रनगरमा अन्तर्राष्ट्रिय मापदण्डको भलिबल कर्भडहल बनाउने योजना रहेको समेत उल्लेख गरेका छन् ।  यस्तै मुख्यमन्त्रीसँग कर्णालीका खेलाडीले जिल्ला खेलकुद विकास समितिलाई न्यूनतम कर्मचारी र प्रशिक्षक राख्न बजेटको व्यवस्था गर्न, निर्वाचन क्षेत्रका लागि विनियोजित पूर्वाधार बजेटअन्तर्गत खेल पूर्वाधारलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् । 

ताजा अपडेट
सम्बन्धित समाचार