काठमाडौँ । सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा निर्माण भएको १३२–३३ केभी सबस्टेशनको उद्घाटन भएको छ ।
सर्लाहीको बिजुली आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आउँदा दिनमा खुल्ने नयाँ उद्योगहरूलाई बिजुली उपलब्ध गराउन निर्माण गरिएको सबस्टेशनको आज मङ्गलवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले उद्घाटन गरेकी हुुन् ।
उद्घाटन कार्यक्रममा उनले आम नेपाली जनताले उज्यालोका लागि मात्र नभएर खाना पकाउन, सिँचाइ गर्न, उद्योग कलकारखाना चलाउनका लागि प्रयोग गरी बिजुली खपत बढाउन आग्रह गरेका छन् ।
तराई तथा मधेस क्षेत्रमा सिँचाइमा बिजुली खपतको प्रचुर सम्भावना देखेर नै सरकारले सिँचाइको विद्युत् महसुल घटाएको उल्लेख गर्दै मन्त्री भुसालले सिँचाइका लागि पेट्रोलियम पदार्थबाट चल्ने उपकरणहरू विस्थापित गर्न आग्रह गरेकी छन् ।
उनले सबस्टेशन सञ्चालनमा आएसँगै यस क्षेत्रमा गुणस्तरीय र भरपर्दो बिजुली आपूर्ति भइ औद्योगिकरणमा सहयोग पुग्ने भएकाले त्यसतर्फ लाग्न आग्रह गरेका छन् ।
यता प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मधेस प्रदेशको बिजुली आपूर्ति सुधार गर्न अहिले सबैभन्दा बढी लगानी भइरहेको उल्लेख गर्दै प्राधिकरणले आफ्नो आम्दानी घटाएर भए पनि सिँचाइ, उद्योग, खानेपानी लगायत आम घरायसी ग्राहकलाई महसुलमा सहुलियत दिएको बताएका छन् ।
विद्युतीकरणका लागि बजेट अभाव नहुने स्पष्ट पार्दै उनले सबैलाई बिजुली उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । मधेस प्रदेशमा विद्युत् चुहावट बढी नै हुने गरेकाले त्यसको नियन्त्रणमा सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् ।