नेपाल – यूएई संयुक्त समितिको दोस्रो बैठक सम्पन्न, भिजिट भिसाबाट सृर्जित समस्या समाधान गर्न नेपाल र यूएईका श्रममन्त्री सहमत

9.9k Shares

काठमाडौं । नेपाल–यूएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्स (यूएई)को राजधानी आबुधावीमा सम्पन्न भएको छ ।

आबुधावीस्थित यूएईको मानव संशाधन मन्त्रालयमा मंगलबार भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे समीक्षा भएको थियो ।

बैठकमा यूएईले नेपाल सरकारले दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले स्थापना गर्न लागेको सीप विकास केन्द्रलाई सहयोग गर्ने प्रतिबद्धता गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

यूएईमा रोजगारी गरी नेपाल फर्केका श्रमिकलाई सहयोग गर्ने गरी सञ्चालन हुने पुनःएकीकरण योजनामा नेपाल सरकारको प्रस्तावअनुसार सहयोग गर्ने प्रतिबद्धता पनि यूएईले जनाएको छ ।

यूएईमा रहेका नेपालीलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा वर्गीकरण गरी त्यसमध्ये पाँचवटा क्षेत्रमा श्रमिक भर्ना प्रक्रिया पूर्णतः निःशुल्क गर्ने गरी ‘पाइलट प्रोजेक्ट’ अघि बढाउन पनि युएई सहमत भएको मन्त्रालयले जनाएको छ ।

पहिलेकै रोजगारदातासँग सम्झौता नवीकरण गरी बिदामा स्वदेश आई फर्कने वा पहिलेकै रोजगारदातासँग सम्झौता नवीकरण गरी रोजगारीमा जाने महिलालाई कानुनी शर्त पूरा गरेर पुनः श्रम स्वीकृति दिने सरकारको निर्णयबारे युएई पक्षलाई नेपाली टोलीले जानकारी गराएको थियो ।

बैठकमा वैदेशिक रोजगारीका क्रममा यूएईमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र बिमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धिलगायत विषयमा पनि छलफल भएको थियो । रोजगारीको प्रलोभनमा परि ‘भिजिट भिसा’मा आएर अलपत्र परेका नेपालीका समस्या समाधानबारे पनि बैठकमा छलफल भएको श्रममन्त्री कृष्णकुमार श्रेष्ठको सचिवालयले जनाएको छ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार