कुनै पनि हालतमा चैत मसान्तभित्रै काठमाडौँमा मेलम्चीको पानी पुर्‍याउनुपर्छ : खानेपानी मन्त्री चौधरी

11k Shares


काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले यही चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ पुग्ने गरी काम गर्न मेलम्ची खानेपनी विकास समिति तथा सम्बद्ध सबै निकायलाई निर्देशन दिएका छन्। 

चैत मसान्तसम्म जसरी पनि पानी काठमाडौं पुर्‍याउने सरकारी लक्ष्य पूरा गर्न खानेपानी विकास समिति र ठेकेदार कम्पनी सिनो हाइड्रोलाई उनले निर्देशन दिएका हुन्।

सुन्दरीजल सुरुङ हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले जनशक्ति तथा अन्य प्राविधिक सहयोग थप आवश्यक परे सरकारले सहयोग गर्ने बताएका छन् ।

निरीक्षणका क्रममा मन्त्री चौधरीले केही दिनअघि ठेकेदारले केही समय काम रोकेको भन्दै भुक्तानी समयमै गर्न सरकार तयार रहेको तर कुनै पनि बहानामा काम ढिलो हुन नहुने बताएका छन् । 

आयोजनाका कारण प्रभावित स्थानीय र बाढी प्रभावितको मागमा मन्त्रालय, खानेपानी विकास समिति र सरोकारवाला सरकारी निकाय सकारात्मक रहेको उनको भनाई छ । 

उनले ठेकेदार कम्पनीले काम सुरु गरेको ९० दिनभित्र काम सक्ने सम्झौता गरेकाले त्यहीअनुसार काम हुनुपर्नेमा जोड दिएका थिए।

ताजा अपडेट
सम्बन्धित समाचार