काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेका सबै रिट खारेज गरेको छ ।
कार्यबाहक प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले सबै रिट खारेज गर्ने फैसला गरेको हो । अध्यादेशविरुद्ध परेका ६ वटा रिट खारेज भएका हुन् ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ९ जेठ २०७८ मा नागरिकता अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशविरुद्ध सर्वोच्चमा रिट परेको थियो । सर्वोच्चले २७ जेठमा अध्यादेश कार्यान्वयमा रोक लगाएको थियो ।
अध्यादेशमा ३ असोज २०७२ भन्दा पहिला जन्मिएको आधारमा नागरिकता लिएकालाई वंशजको आधारमा नागरिकता दिने र बाबुको पहिचान नखुलेको हकमा स्वयम घोषणा गरेको आधारमा पनि वंशजको आधारमा नागरिक दिने प्रावधान राखिएको थियो ।