काठमाडौं । नेपालीहरूको महान् पर्व फागु पूर्णिमा (होली)को अवसरमा आज शुभकामना सन्देश दिंदैराष्ट्रपति विद्यादेवी भण्डारीले होली लगायतका हाम्रा संस्कृतिका असल पक्षलाई प्रवद्र्धन गर्न यसलाई मितव्ययी र विकृतिरहित राख्नुपर्ने बताएकी छन् ।
न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट हामी सबैमा प्रेरणा मिलोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीले गरेकी छन् ।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै राष्ट्रपति भण्डारीले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गरेकी छन् ।
वैदिक परम्परादेखि नै समाजमा असल र खराबबीच द्वन्द्व चल्दै आए तापनि सत्यको नै विजय हुने भन्दै उनले होली पर्वले सत्य र न्यायका पक्षमा अविचलितरूपले क्रियाशील रहन प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गरेकी छन् ।
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि होली पर्वको अवसरमा सबै नेपालीहरुलाई शुभकामना दिंदै यस पर्वले स्थानीय तहको निर्वाचनलाई उत्सवका रूपमा सम्पन्न गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
प्रत्यक्ष मतदानद्वारा आफ्नो सरकार आफैं बनाउने स्थानीय तहको निर्वाचनलाई उत्सवका रूपमा लिन र सक्रिय सहभागी हुन उनले आग्रह गरेका छन् ।
होली पर्वले सामाजिक सद्भाव थप फैलाउने र राष्ट्रिय एकतालाई बलियो बनाउने उनले विश्वास व्यक्त गरेका छन् ।