काठमाडौँ । वैशाख ३० मा हुने स्थानीय तह चुनावमा उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ताअघि नै राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको व्यवस्थाप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ ।
निर्वाचन आयोगले बनाएको निर्वाचन आचारसंहिता–२०७८ मा जनप्रतिनिधिले उम्मेदवार बन्ने भएमा मनोनयन दर्ताअघि नै राजीनामा दिनुपर्ने व्यवस्था छ ।
यो आचारसंहितामा एमालेका उपमहासचिव विष्णु रिमालले सामाजिक सञ्जाल फेसबुकमार्फत चुनावमा जानुअघि पद खाली गर्नुपर्ने किन ? भनेर प्रश्न गरेका छन् ।
प्रधानमन्त्रीले चुनावअघि राजीनामा दिनु नपर्ने तर गाउँपालिका अध्यक्ष वा मेयरले सेवा नै प्रभावित हुने गरी किन राजीनामा दिनुपर्ने भन्ने उनको प्रश्न रहेको छ ।
पदको दुरूपयोग नहोस् भनेर सोच्नुपर्ने तर सेवा नै रोक्ने गरी आचारसंहिता बनाउन उचित नहुने पनि उनको तर्क छ ।
साथै एमालेले निर्वाचन आयोगलाई स्थानीय तह निर्वाचन ऐनको व्यवस्थाप्रति ध्यानाकर्षण गराएको छ ।