काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनबाट माओवादी पहिलो पार्टी बन्ने दाबी गरेका छन्।
आइतबार प्रेस सेन्टर नेपालले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले माओवादी पहिलो पार्टी बन्ने माहोल बन्दै गएको दाबी गरेका हुन् ।
दाहालले भने, “देशभरीको सबै स्थिति हेर्दा आगामी चुनावबाट हामी पहिलो पार्टी बन्ने संभावनातिर अगाडि बढिसकेका छौं, अहिले कार्यक्रममा जो उभार हामीले देखेका छौं, त्यो उभार हेर्दा अब मानिसहरूले फेरि एकचोटी माओवादीलाई जिताउनुपर्छ भन्न थालेका छन् । ”
स्थानीय चुनाव माओवादीका लागि महत्त्वपूर्ण भएको उनको भनाई थियो । “अबको चुनावमा हामी कसैको बैसाखी टेकेर होइन, आफ्नै बलमा चुनाव लड्ने तयारी गर्दैछौं,” दाहालले भने, “एकचोटी फेरि माओवादी आउनैपर्छ।”
आगामी चुनावमा अब अरु पार्टीले माओवादीसँग तालमेल गर्न आउनुपर्ने उनले उल्लेख गरेका छन् । सकभर माओवादी आफ्नै बलमा चुनाव लड्ने प्रयत्नमा रहेको उनले बताए । जित्न नसकिने स्थान मात्रै तालमेल गर्न सकिने उनको भनाइ थियो।