काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का नेता घनश्याम भुसालले कम्युनिस्ट नेताहरू एकसँग अर्को डराउँदा कम्युनिस्ट एकता धरापमा परेको बताएका छन् ।
निर्वाचनमा वाम एकताका विषयमा आफूले उठाउँदै आएका विषय जानकारी गराउन मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका भुसालले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल एकार्कासँग डराउँदा कम्युनिस्ट राजनीति जोखिमतर्फ उन्मुख भएको बताएका छन् ।
“माधव र प्रचण्डजीबाट हेर्दा ओली खतरनाक, ओलीले माधव र प्रचण्डलाई खतरानाक तत्व भन्ने । बाहिबाट हेर्दा दुवै खतरनाक हुन् भन्ने,” भुसालले भने, “२०७४ सालमा छापामार शैलीमा गठबन्धन गरियो । अहिले समय छैन भन्नु बेकार छ ।”
उनले हिजोभन्दा आज सहज अवस्था भए पनि कृत्रिम रूपले दूरी बढाइएको बताए । कम्युनिस्टहरू बहुमतमा भएर पनि नेताहरूको इगो र त्रासका कारण जोखिमतर्फ उन्मुख भएको उनको बुझाइ छ ।