काठमाडौं । मोरङको लेटाङ नगरपालिकामा महिला प्रहरी जवानको मृत्यु हुने गरी भएको हिसांत्मक घटनाबारे छलफल गर्न सर्वदलीय बैठक बसेको छ।
नगरपालिका परिसरमा मंगलबार बसेको बैठकले घटनामा दोषी तथा अपराधमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सहमति गरेको छ।
बैठकपछि नगरपालिकाका मेयर शंकर राईले जारी कर्फ्युका कारण दैनिकीमा परेको असहजतालाई ध्यानमा राख्दै कर्फ्यु खुकुलो बनाउन प्रशासनलाई अनुरोध गर्ने बताएका छन् ।
मेयर राईका अनुसार बैठकले यसअघि जाँते माविमा अध्ययनरत १४ वर्षीया बालिकाको हत्यापछि परिवारलाई आवश्यक राहतका लागि केन्द्र सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ। सो घटनामा बालिकाको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरिसकेको र कानुनी कारबाही प्रक्रियामा रहेको उनले जानकारी दिएका छन्।
त्यसैगरि बैठकले नगरबासीको सुरक्षा अवस्थाका लागि खटिने सुरक्षा निकायलाई दरिलो बनाउन जनशक्तिको संख्या बृद्धि र सवारीसाधनको माग गर्ने जनाएको छ।
मेयर राईका अनुसार लेटाङ भौगोलिक अवस्था विकट रहेको हुँदा सुरक्षा निकायलाई घटनास्थलसम्म पुग्नसमेत सवारीसाधन पुरानो भइसकेको हुँदा सो माग गृह मन्त्रालय समक्ष राखिएको छ।
बैठकमा नगरपालिका मेयर राई, उपमेयर कृष्णकुमारी निरौला, प्रदेश १ का यातायात तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरे, नेपाली कांग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू, पूर्व सांसद घनश्याम खतिवडा, सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।
आइतबार लेटाङको खेरुवास्थित शिक्षा विकास माविमा भएको घटनामा एक महिला प्रहरी जवानको आक्रोशित भीडले हत्या गरेको थियो। सो विद्यालयका शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत १४ वर्षीया बालिकामाथि दुर्व्यवहार गरेको घटना सार्वजनिक गरेसँगै आइतबार विद्यालय परिषर रणभूमि बन्न पुगेको थियो।
घटनाबारे विद्यालयदेखि व्यवस्थापन पक्षसमेत छलफल गरी घटना साम्य पार्नतर्फ लागेको जनाउँदै आक्रोशित भीडले आक्रमण गरेको प्रहरीको भनाइ छ।