काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले आफ्नो पार्टीको हैसियतअनुसार मन्त्रीमण्डलमा भाग माग गरेका छन् ।
मधेश प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगेका अध्यक्ष प्रचण्ड विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्रिमण्डल हेरफेर भए हैसियतअनुसार पार्टीको सहभागिता माग गरेका हुुन् ।
उनले मन्त्रीमण्डल हेरफेर हुने सम्भावना रहेको जानकारी समेत गराएका छन् । अध्यक्ष प्रचण्डले यस विषयमा प्रधानमन्त्री देउवासँग कुराकानी भएको र देउवा सहमत समेत रहेको उल्लेख गरेका छन् ।
प्रचण्डले भने, ‘मन्त्रिपरिषद्मा हेरफेरको कुरा चलेको छ । तर, अहिलेसम्म औपचारिक रूपमा टुङ्गिएको छैन । केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना पनि छ, मैले प्रधानमन्त्री देउवासँग भनिरहेको छु । गठबन्धनमा सबैभन्दा बढी त्याग माओवादी केन्द्रले गरेको छ । हामीले पाउनुपर्ने जति मन्त्रालय पाएको छैन । प्रधानमन्त्रीले उहाँको पार्टीको अधिवेशनसम्म सहयोग गर्न भनेका थिए । माधव जीले पनि मेरो पार्टी नयाँ छ, धेरै दुःख छ सहयोग गर्नु भनेका थिए । अब सहयोग गर्ने सबै काम माओवादी केन्द्रकै रहेको छ ।’
स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न माओवादी केन्द्र तयार भए पनि कुन दलसँग गर्ने टुङ्गो नलागेको उनको भनाई छ । अध्यक्ष प्रचण्डले कांग्रेस लचिलो भएर आए गठबन्धन हुने संकेत गरेका छन् ।