काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यक्रमहरुलाई व्यवस्थित बनाउन निर्देशन दिएका छन्।
कार्की ब्याङ्क्वेटमा जारी केन्द्रीय कमिटी बैठकमा उनले आसन ग्रहणका कार्यक्रम लामो हुने गरेको भन्दै व्यवस्थित रुपमा कार्यक्रम संचालन गर्न भनेका हुन्।
उनले कुनै पनि कार्यक्रममा पाँचजनाभन्दा बढी वक्ता नराख्न र आसन ग्रहण पनि छोट्याउन आग्रह गरे।उनले भने, ‘कार्यक्रममा ५ जना भन्दा बढी वक्ता नराखौं नत्र त हाम्रो सभा सम्मेलन नै नहुने भयो। वक्ता वाहेकलाई आसन ग्रहण नगर्ने व्यवस्था गरौं । ’
ओलीले कार्यक्रममा आसन नपाएर कसैले पार्टी छाडे फरक नपर्ने समेत बताए। ‘आसन ग्रहण गर्न नपाएर कसैले पार्टी छोड्यो भने केही छैन। खादा र माला सकेसम्म कम लगाउनु पर्छ। खादा र मालाको बोझ बनाउने होइन। चित्त दुखे सबैको दुख्ला नि’ उनले भने।