काठमाडौँ । ललितपुरको हरिसिद्धिका स्थानीय बासिन्दाले सडक मर्मतको माग गर्दै सडक अवरुद्ध गरेका छन् ।
स्थानीय बासिन्दाको अवरोधका कारण सातदोबाटोबाट हरिसिद्धि हुँदै गोदावरी जाने गाडी प्रभावित भएका छन् । यो सडक खण्ड भएर चल्ने गाडीलाई हरिसिद्धि अस्पताल र सानागाउँ तर्फबाट आउने–जाने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यसैगरी गोदावरीबाट आउने गाडीलाई ठैब, सानागाउँ, इमाडोल, ग्वार्को हुँदै आउने–जाने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ । यसैबीच, काठमाण्डौको जोरपाटी–थली सडक खण्ड फेरि बन्द भएको छ ।
बिहान केहीबेर गाडी चले पनि स्थानीय बासिन्दाले फेरि बन्द गराएका प्रहरीले जनाएको छ । हिजो पनि यो सडक खण्ड बन्द थियो । यस्तै, सडक कालोपत्र गर्न माग गर्दै स्थानीयवासीले गरेको आन्दोलनका कारण सातदोबाटो–चापागाउँ सडक खण्डमा आज पनि डाइभर्सन छ ।
बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म गाडी डाइभर्सन गरिएको हो ।